विराटनगर । सद्भाव नै हाम्रो धर्म, एकता नै हाम्रो शक्ति भन्ने नारा सहित विराटनगरमा शान्तिपूर्ण सद्भाव र्याली आयोजना गरिएको छ ।
साउन १० गते सुनसरीको देवानगञ्ज गाँउपालिकामा भएको घटनाका कारण अन्य ठाँउमा समेत देखिएको विवाद र आन्दोलन अन्त्य गर्दै धार्मिक, जातिय तथा साम्प्रदायिक सद्भाव कायम गराउन सो सद्भाव र्याली आयोजना गरिएको हो । विराटनगरको महेन्द्र चोकबाट शुरु भएको शान्तिर्पूण सद्भाव ¥याली नगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि समापन भएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले धार्मिक एवम् साम्प्रदायिक घटनाहरुबाट आपसमा द्वन्द्व र वैमनस्यता बढाउने मात्र नभइ शान्ति सुरक्षामा समेत प्रभाव पर्ने भएकाले आपसमा मिलेर धार्मिक सद्भाव भड्काउनेहरुलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे ।
जिल्ला प्रशासन कार्यालय मोरङको पहलमा आयोजित सद्भाव ¥यालीमा विभिन्न धार्मिक संघ संगठनका प्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु, उद्योगी व्यापारी, मजदुर र नागरिक समाजका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

