२७ कार्तिक २०८३, शुक्रबार Friday, 13 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 7:21 pm
Banner

निर्मल पुर्जाहरूको योगदानको इतिहास सधैँ जीवित रहिरहनेछ : प्रधानमन्त्री

सूचना प्रेस २०८३ श्रावण १६ शनिबार ००:००, १७:५५ बजे १ मिनेट पढाइ

काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिक हिमालमा हिमपहिरोमा परी ज्यान गुमाएका विश्व कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित सम्पूर्ण नेपाली आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शनिबार फेसबुकमार्फत शोक सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले आरोहण केवल शिखर चुम्ने यात्रा नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन्।

उनले हिमालले धेरैलाई शिखरको गौरव दिलाउने भए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि अँगालेर राख्ने भन्दै निर्मल पुर्जा लगायत दिवङ्गत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको, तर उनीहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणाको स्रोत बनेर जीवित रहने बताएका छन्।

प्रधानमन्त्री शाहले पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा भएको उक्त दुःखद घटनाले आफू स्तब्ध भएको उल्लेख गर्दै दिवङ्गत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, उनले शोकसन्तप्त परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।