काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरो नेपालको पर्वतारोहण इतिहासको दुखद् अन्त्य भएको बताएका छन् । उक्त हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूप्रति दुःख व्यक्त गर्दै पोखरेलले यस घटनालाई पर्वतारोहणको स्वर्णिम अध्याय रच्ने आरोही गुमाएर नेपालले ठूलो क्षति व्योहोरेको उल्लेख गरे ।
आज एक शोक वक्तव्य जारी गर्दै महासचिव पोखरेलले विश्व पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी नेपाल र नेपालीको गौरव विश्वभर चिनाउन सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ र उनका साहसी सहयात्रीहरू पुरबहादुर गुरुङ ‘युक्ता’, किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा, नवाङ थिन्डु शेर्पा र ग्यालु शेर्पाको निधनको खबरले पार्टी स्तब्ध र मर्माहत भएको उल्लेख गरे ।
पोखरेलले विश्व पर्वतारोहणमा असम्भवलाई सम्भव बनाएर साहस, दृढता र सङ्कल्पको अनुपम उदाहरण प्रस्तुत गरेका नेपाली पर्वतारोहीहरू सधैँका लागि हिमालकै काखमा लीन हुनु राष्ट्रका लागि अपूरणीय क्षति भएको बताए ।
उनले पर्वतारोहण क्षेत्रसँगै समग्र राष्ट्रले आफ्ना अमूल्य राष्ट्रिय धरोहर र साहसी सन्ततिहरू गुमाएको उल्लेख गर्दै यस घटनालाई नेपालको पर्वतारोहण इतिहासको स्वर्णिम अध्यायको दुःखद् अन्त्यका रूपमा चित्रण हुने वक्तव्यमा उल्लेख गरे ।
महासचिव पोखरेलले राष्ट्रका लागि दिवङ्गत पर्वतारोहीहरूले पुर्याएको अद्वितीय योगदानको उच्च सम्मान गर्दै पार्टीका तर्फबाट निर्मल पुर्जा ‘निम्स दाइ’सहित सबै दिवङ्गत पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे । उनले शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै यो पीडादायी घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरेका छन् ।

