काठमाडौं : नेपालसहित ५० देशका नागरिकका लागि अमेरिकी पर्यटक तथा व्यावसायिक भिसामा आवेदन दिँदा ठूलो रकम धरौटी राख्नुपर्ने नियम लागू गरिएको छ ।
अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड’ कार्यक्रमलाई स्थायी बनाउँदै अधिकतम धरौटी रकम २० हजार अमेरिकी डलरसम्म पुर्याएको हो । जुन नेपाली रुपैयाँ करिब ३० लाख भन्दा बढी हो ।
यो व्यवस्था विशेषगरी बी–१ (व्यापार) र बी–२ (पर्यटक) भिसामा अमेरिका जान चाहने नेपाली नागरिकका हकमा लागू हुनेछ । नयाँ नियमअनुसार न्यूनतम १० हजार डलर र अधिकतम २० हजार डलर धरौटी राख्नुपर्नेछ । भिसा अन्तर्वार्ताअघि नै उक्त रकम बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
भिसा अस्वीकृत भएमा वा अमेरिका पुगेपछि भिसाका सबै सर्त पालना गर्दै समयमै स्वदेश फर्किएमा धरौटी रकम फिर्ता गरिनेछ । तर भिसाको अवधि नाघेर अमेरिकामा बसेमा (ओभरस्टे) भने सो रकम जफत हुनेछ ।

