१७ श्रावण २०८३, आइतबार 1785686967
समाचार

वैशाखयता विपद्‌बाट १ सय ९६ जनाको मृत्यु

काठमाडौँ । २०८३ को वैशाख १ गतेदेखि साउन १७ गतेसम्म देशका विभिन्न स्थानमा घटेका विपद्का घटनामा परि १ सय ९६ जनाको मृत्यु भएको छ । ४ जना अझै बेपत्ता रहेका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको बुलेटिनअनुसार यस अवधिमा कूल ४ हजार ५३ वटा विपद्का घटनाहरू दर्ता भएका छन् ।

वैशाख यता ५ हजार १ सय ८८ परिवार प्रभावित भएका छन् । वैशाख १ देखि साउन १७ गतेसम्म ४ हजार ५३ वटा विपद्का घटनामा १ सय ९६ जनाको मृत्यु, ४ जना बेपत्ता र १ हजार २ सय १८ जना घाइते भएका छन् । सर्पदंश विपद्को मुख्य घातक कारण बनेको छ, जसबाट ५४ जनाको ज्यान गएको छ भने ६ सय ६८ जना घाइते भएका छन् । ७ सय १६ सर्पदंशका घटनामा ७ सय १८ परिवार प्रभावित बनेको छ ।

वैशाख १ देखि साउन १७ सम्मको समग्र विपद् अवस्था

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार चालु सिजनमा सर्पदंशबाट सबैभन्दा बढी मानिसको मृत्यु भएको छ । सर्पदंशका कुल ७ सय १६ वटा घटनामा ५४ जनाको ज्यान गएको छ भने ६ सय ६८ जना घाइते भएका छन् । यसबाट ७ सय १८ परिवार प्रभावित बनेका छन् ।

चट्याङका २ सय ३१ वटा घटनामा २५ जनाको मृत्यु र १ सय ३२ जना घाइते भएका छन् । त्यस्तै, २ सय ७७ परिवार प्रभावित भएको छ । लेक लाग्ने ५७ वटा घटनामा २२ जनाको मृत्यु र ३६ जना घाइते भएका छन् । ५६ परिवार प्रभावित भएको छ । त्यस्तै यस अवधिमा पहिरोका ६ सय ८५ वटा पहिरोका घटनामा २० जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता र ३० जना घाइते भएका छन् । ५ सय ८६ परिवार प्रभावित भएका छन् । आगलागीका कुल १ हजार २४ वटा घटनामा परि २० जनाको मृत्यु र १ सय ३९ जना घाइते भएका छन् । १ हजार १ सय ३३ परिवार प्रभावित भएका छन् ।

जनावर आक्रमणका २ सय २५ वटा घटनामा १८ जनाको मृत्यु र १ हजार २ सय २० जना घाइते भएका छन् । ३ सय ४२ परिवार प्रभावित छन् । २ सय बाढीका घटनामा १४ जनाको मृत्यु, ३ जना बेपत्ता र १० जना घाइते भएका छन् । त्यस्तै, बाढीबाट ४ सय ५० परिवार प्रभावित भएका छन् । ४ सय ८० हावाहुरीका घटनामा १३ जनाको ज्यान गएको छ भने ६८ जना घाइते भएका छन् । १ हजार ३ सय ५८ परिवार प्रभावित भएका छन् ।

यसबाहेक भारी वर्षाबाट ४ जना, ढुङ्गा पल्टिएर २ जना, वन डढेलोबाट १ जना, हिउँ पहिरोबाट १ जना, विस्फोटनबाट १ जना र अन्य घटनाबाट १ जनाको मृत्यु भएको छ । असिना र भूकम्पका कारण मानवीय क्षति नभए पनि क्रमशः १ र ३ परिवार प्रभावित भएका छन् ।

पछिल्लो २४ घण्टाको घटना विवरण 

प्राधिकरणका अनुसार साउन १७ गते बिहान १० बजेसम्मको २४ घण्टामा देशका २५ स्थानमा (जिल्लागत घटना जोड्दा) कुल ३४ वटा विपद्का घटनाहरू भएका छन् । सर्पदंश ८ जिल्लामा १४ वटा सर्पदंशका घटना छन् । यसबाट १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

सुरक्षाका लागि ५० जना प्रहरी परिचालन गरिएको थियो । १० जिल्लामा ११ वटा आगलागीका घटनामा ५ जना घाइते भएका छन् । उद्धार र नियन्त्रणका लागि १८४ जना प्रहरी टोली खटिएका थिए । ४ जिल्लामा ६ वटा पहिरोका घटनामा १ जना घाइते भएका छन् । सडक अवरुद्ध खुलाउन र उद्धारमा १३ जना प्रहरी खटिएका थिए । जनावर आक्रमणका ३ जिल्लामा ३ वटा घटना हुँदा १ जना घाइते भएका छन् । २४ जना प्रहरी परिचालन गरिएको थियो ।

२४ घण्टाको अवधिमा कूल २ सय ७१ जना नेपाल प्रहरी टोली उद्धार तथा सुरक्षाका लागि कार्यक्षेत्रमा खटिएका थिए । पछिल्लो २४ घण्टामा (साउन १६ बिहान १०ः०० देखि १७ बिहान १०ः ०० बजेसम्म) ३४ वटा विपद्का घटना भएका छन्, जसमा १ जनाको मृत्यु र २० जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा अनुमानित २७ लाख २५ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ भने १८ वटा चौपाया मरेका छन् र २ स्थानमा सडक अवरुद्ध भएको छ ।