८ भदौ २०८३, सोमबार 1787621653
समाचार

मध्यपहाडी राजमार्गसँगै फेरियो लुगुमको स्वरूप

साउन १७ गते। लुगुम गाउँ रुकुम पूर्व जिल्लाको उच्च हिमाली भेगमा अवस्थित एक सुन्दर तथा सांस्कृतिक रूपमा समृद्ध बस्ती हो। यो गाउँ लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वको भूमे गाउँपालिका–१ मा पर्दछ।

समुद्री सतहबाट करिब दुई हजार सात सयदेखि तीन हजार मिटरसम्मको उचाइमा रहेको यस गाउँमा जनजाति समुदायको बाहुल्य बसोबास छ। मध्यपहाडी राजमार्गको फराकिलो सडकले गाउँलाई छोएर पूर्व–पश्चिम विस्तार भएसँगै गाउँको प्रतिष्ठा र चिनारी चुलिँदै गएको छ। आसपासका अन्य घना र सुन्दर गाउँहरू सडक पहुँचको अभावमा ओझेलमा परिरहेका बेला लुगुम भने सुगम पहुँचका कारण परिचित र आकर्षक बन्दै गएको छ।

लुगुम प्राकृतिक सौन्दर्यका साथै मौलिक ग्रामीण जीवनशैली, परम्परागत ढुङ्गामाटोका घर, भेडापालन र उच्च हिमाली कृषि प्रणालीका कारण विशेष महत्त्व राख्छ। यहाँका स्थानीय समुदायको मुख्य जीविकोपार्जन पशुपालन, आलु, फापर, जौ लगायतका बाली उत्पादन तथा जडीबुटी सङ्कलनमा आधारित छ। गर्मीयाममा स्थानीय गोठालाहरू चौँरी र भेडाका बथान लिएर चुङ्री खर्क तथा आसपासका पाटनतर्फ उक्लने परम्परा आज पनि जीवितै छ। पछिल्लो समय झाँक्री मेला समेत लाग्ने भएकाले मौलिक संस्कृति र परम्परा अध्ययन गर्न रुचाउनेहरूका लागि लुगुम रोजाइको गन्तव्य बन्दै गएको छ।