१९ श्रावण २०८३, मंगलबार 1785872554
अर्थ

शाइन रेसुंगाको नाफामा ८३ प्रतिशतको छलाङ, १६.८६ प्रतिशत लाभांश दिने क्षमता

काठमाडौं । शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ८२.९७ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०८१/८२ मा बैंकले ६४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको नेतृत्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पौडेलले गरिरहेका छन्। व्यवस्थापन टोलीमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) लोकराज पनेरु तथा सहायक महाप्रबन्धक (एजीएम) सीए यशोधन पाण्डे रहेका छन्। उनीहरूको नेतृत्वमा बैंकले व्यवसाय विस्तारसँगै वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको हाे । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकले १६.८६ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफामा पनि उल्लेखनीय सुधार छ। अघिल्लो आर्थिक वर्षमा ९१ करोड ११ लाख रुपैयाँ रहेको सञ्चालन नाफा ९०.७४ प्रतिशतले बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

बैंकको खुद ब्याज आम्दानी ६.९० प्रतिशतले बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ रहेको थियो। ब्याज आम्दानीसँगै बैंकको सञ्चालन आयमा पनि सुधार छ। व्यवसाय विस्तारतर्फ बैंकले उल्लेखनीय प्रगति गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ७१ अर्ब ७६ करोड ७१ लाख रुपैयाँबाट बढेर ७७ अर्ब ८५ करोड २६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी कर्जा प्रवाह ५६ अर्ब ९० करोड ७१ लाख रुपैयाँबाट बढेर ६३ अर्ब २६ करोड ७७ लाख रुपैयाँ पुगेको छ। निक्षेप र कर्जा दुवैमा भएको वृद्धिले बैंकको व्यवसाय विस्तार भइरहेको छ।

बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ कायम रहेको छ। समीक्षा अवधिमा रिटेन्ड अर्निङ ६६ करोड ८५ लाख रुपैयाँबाट बढेर ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष १ अर्ब ८३ करोड ९५ लाख रुपैयाँबाट बढेर २ अर्ब १४ करोड ८ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात भने बढेको छ। अघिल्लो आर्थिक वर्षमा ४.२७ प्रतिशत रहेको एनपीएल समीक्षा अवधिमा बढेर ४.९३ प्रतिशत पुगेको छ, जसले सम्पत्ति गुणस्तरमा केही दबाब छ।

वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ २४ पैसाबाट बढेर २३ रुपैयाँ ५२ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४८ पैसा कायम रहँदा मूल्य–आम्दानी अनुपात (पीई रेसियो) १७.६४ गुणा रहेको छ।

समग्रमा, आर्थिक वर्ष २०८२/८३ मा शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नाफा, सञ्चालन नाफा, ब्याज आम्दानी, निक्षेप, कर्जा र वितरणयोग्य मुनाफालगायत अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको छ। यद्यपि, निष्क्रिय कर्जा अनुपात बढेकाले कर्जा गुणस्तर व्यवस्थापनमा बैंकले थप ध्यान दिनुपर्ने देखिएका्े छ ।