काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको छ। यो अघिल्लो आर्थिक वर्षको ३ अर्ब ३६ करोड ६५ लाख रुपैयाँको तुलनामा ४.५४ प्रतिशत बढी हो।

बैंकको नाफा वृद्धिमा खुद ब्याज आम्दानी तथा फि–कमिसन आम्दानीमा भएको सुधारले मुख्य योगदान गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ४३ करोड रुपैयाँबाट बढेर ९ अर्ब ५ करोड ११ लाख रुपैयाँ पुगेको छ भने फि तथा कमिसन आम्दानी १ अर्ब ५८ करोड रुपैयाँबाट बढेर १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि ४ अर्ब ९७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकको नियामकीय समायोजनपछि बैंकको वितरणयोग्य नाफा १ अर्ब ७० करोड ५६ लाख रुपैयाँ रहेको छ। यद्यपि, क्यापिटल एड्जस्टमेन्ट रिजर्भ समेत समायोजन गर्दा बैंकको लाभांश क्षमता २६.१५ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।
व्यापार विस्तारतर्फ बैंकको निक्षेप २ खर्ब ८० अर्ब ३२ करोड रुपैयाँबाट बढेर ३ खर्ब २७ अर्ब १ करोड रुपैयाँ पुगेको छ। कर्जा लगानी पनि २ खर्ब १४ अर्ब ४५ करोड रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। यससँगै बैंकको कुल सम्पत्ति ३ खर्ब ८९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
यद्यपि, बैंकको खराब कर्जा (एनपीएल) भने २.६२ प्रतिशतबाट बढेर ३.५३ प्रतिशत पुगेको छ। सकारात्मक पक्षमा बैंकको पुँजीकोष अनुपात ११.७७ प्रतिशतबाट १३.१९ प्रतिशत पुगेको छ, जसले पुँजीगत आधार थप मजबुत भएको देखाउँछ। बैंकले व्यवस्थापन टोलीलाई पनि थप सुदृढ बनाएको छ। प्रमुख कार्यकारी अधिकृत सीईओ रमेश्वरप्रसाद बस्याल नेतृत्वको व्यवस्थापन टोलीमा अर्जुन भद्र खनाल (चीफ क्रेडिट अन्डरराइटिङ अफिसर), सृजन कृष्ण मल्ल (चीफ टेक्नोलोजी अफिसर), सुरेशराज महर्जन (चीफ मार्केटिङ अफिसर) तथा प्रशन्न खड्का (चीफ कर्पोरेट बैंकिङ अफिसर) रहेका छन्। बैंकले अनुभवी नेतृत्वमार्फत सेवा विस्तार र व्यवसायिक वृद्धिलाई थप प्रभावकारी बनाउने रणनीति लिएकाे छ ।

