२० श्रावण २०८३, बुधबार 1785948183
समाचार

कप्तानगञ्ज घटनाको छानविनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न काँग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको छानविनका लागि उच्चस्तरीय न्यायीक आयोग गठन गर्न माग गरेको छ । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले उक्त घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिन गर्न सरकारले वनाएको समिति सरकारका कमजोरी लुकाउने समितिमा सिमित हुने संशय विद्यमान रहेकाले स्वतन्त्र, निष्पक्ष, र विश्वसनीय उच्चस्तरीय न्यायीक आयोग गठनको माग गरेको हो ।

सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनामा सरकारी संयमता र जवाफदेहिताको अभाव देखिएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए । सरकार सुशासन, पारदर्शिता र जवाफदेहितामा पूर्ण रूपमा असफल भएको भन्दै उनले सरकारका कमजोरीले सरकार प्रति जनविश्वास निरन्तर खस्किएको उल्लेख गरे ।

त्यस्तै भदौ २३–२४ को आन्दोलन सम्वन्धमा, सर्वस्वीकार्य आयोगको अभाव र सरकारको नैतिक असफलता देखिएको उनले बताए । भदौ २३–२४ को घटनालाई लिएर राष्ट्रिय मानव अधिकार आयोगले समेत आफ्नो प्रतिवेदन दिईसकेकोमा यसवारे सरकारको मौनता रहस्यपूर्ण रहेको पार्टीको ठहर रहेको प्रवक्ता चालिसले स्पष्ट पारे ।

त्यस्तै कांग्रेसले विचार तथा अभिव्यक्ति स्वतन्त्रता विरूद्दको सरकारको हरकत सर्वसत्तावादी अभ्यास रहेको आरोप लगाएको छ । त्यस्तै राहदानी खरिद प्रकरणमा सरकारको पारदर्शिता र नियतमाथि गम्भीर प्रश्न उठेको प्रवक्ता चालिसेले धारणा राखेका छन् । कांग्रेसले सम्पत्तिको स्रोत र भ्रष्टाचारविरुद्धको कार्वाही सम्वन्धमा सरकारको दोहोरो मापदण्ड देखिएको जनाएको छ ।

आफ्नै मन्त्री, आफ्नै उच्च राजनीतिक पदाधिकारी र प्रभावशाली व्यक्तिले सम्पत्ति सार्वजनिक गर्दा स्रोतवारे उठेका सार्वजनिक प्रश्नहरूको उत्तर आजसम्म आउन नसकेको प्रवक्ता चालिसेले बताए । सरकारद्वारा गठित आयोगको कार्य क्षेत्रमा वर्तमान पदमा रहेका व्यक्तिहरूलाई उन्मुक्ति दिइकाले न्यायसंगत नरहेको उनको भनाइ छ ।