काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले विशेष महाधिवेशन वैधानिक र विधानसम्मत रहेकोले अदालतमा प्रतिरक्षा गरिने बताएका छन् ।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभापति थापाले पार्टीको विशेष महाधिवेशनबारे सर्वोच्च अदालतको पछिल्लो आदेशका सम्बन्धमा २४ गते बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरी धारणा बनाइने समेत बताएका हुन् ।
विशेष महाधिवेशन वैधानिक र ठीक थियो भनेर पुष्टि गर्नका निम्ति फेरि एकपटक अर्को अवसर प्राप्त गरेको उनको भनाइ छ । उनले विधान भन्दा माथि कोही पनि नरहने भएकाले आगामी महाधिवेशन तोकिएकै समय (मंसिरसम्म) सम्पन्न गर्नुपर्ने वैधानिक दायित्व र बाध्यता रहेको स्पष्ट पारे ।
कार्यकर्ता/शुभेच्छुकहरूले राखेको भरोसालाई टुट्न नदिई पार्टीलाई बलियो बनाउन सवैलाई समेटेर लैजाने उनको भनाइ छ । सभापति थापाले सबैलाई सम्हालेर लैजाने कोसिस गर्नुपर्छ भन्नेतर्फ आफु सचेत रहेको बताए । साथै उनले नेपालमा नयाँ सरकार बनेको अवस्थामा प्रतिपक्षका रूपमा खबरदारी गर्ने र संविधानप्रतिको संवेदनशीलता जोगाउने दायित्व रहेको उल्लेख गरे ।
संविधान संशोधन गर्दा यसको संवेदनशीलतालाई बुझ्न नसके नेपाल कुनै पनि बेलामा दुर्घटनामा पर्न सक्ने उनको भनाइ छ । सभापति थापाले संविधान संशोधनमा सरकारको बुझाइले देशलाई ठूलो द्वन्द्वमा धकेल्न सक्ने भएकाले कांग्रेसले निरन्तर दवाव र खवरदारी गर्ने जिकिर गरे ।

