काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाको सोमबार (साउन २५ गते) बस्ने बैठकमा चार विधेयक प्रस्तुत हुने भएका छन् । दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर हुने कार्यक्रम पनि सङ्घीय संसद् सचिवालयले सम्भावित कार्यसूचीमा राखेको छ ।
दिउँसो १ बजे बस्ने बैठकमा सुरुमा मन्त्रालयगत प्रश्नोत्तरको कार्यक्रम रहने संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ । परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची तय गरिएको सूचनामा उल्लेख छ ।
बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने र सो विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले थप दुई वटा प्रस्तावहरू प्रस्तुत गर्ने कार्यसूची छ । जसमा ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव समावेश छ।
त्यस्तै, प्रधानमन्त्रीको तर्फबाट मन्त्री गौतमले नै ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ।

