काभ्रेपलाञ्चोक-काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८, दुलालेश्वर महादेव मन्दिरनजिकबाट बेपत्ता भएका दम्पतीमध्ये ६७ वर्षीया तिलकुमारी पराजुलीको शव फेला परेको छ।

मण्डनदेउपुर नगरपालिका-७ निवासी तिलकुमारीको शव आइतबार सिन्धुली-ओखलढुङ्गा सीमास्थित सुनकोशी नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका-१ स्थित नदी किनारमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार नदीमा फेला परेको शवको फोटो परिवारलाई पठाएर पहिचान गर्ने प्रयास गरिएको थियो। परिवारले कपालको अवस्था तथा पिसाब थैलीलगायतका आधारमा शव तिलकुमारीकै भएको पुष्टि गरेको प्रहरीले जनाएको छ। थप आधिकारिक पुष्टिका लागि आफन्त ओखलढुङ्गा पुगेका छन् ।
तिलकुमारीसँगै बेपत्ता भएका उनका ६८ वर्षीय श्रीमान् केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत बुधबार साँझ दम्पती भुम्लु गाउँपालिका-८ स्थित दुलालेश्वर महादेव मन्दिर छेउबाट बेपत्ता भएका थिए । केदारनाथले श्रीमती तिलकुमारीलाई पिठ्युँमा बोकेर दोलालघाटतर्फ गएको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। त्यसपछि उनीहरू सुनकोशी नदीमा बेपत्ता भएको स्थानीयले बताएका छन् ।
तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित तथा अपाङ्ग अवस्थामा रहेको बताइएको छ भने केदारनाथलाई प्रोस्टेटसम्बन्धी समस्या रहेको परिवारजनले बताएका छन् ।
दम्पती बेपत्ता भएदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले सुनकोशी नदी र आसपासका क्षेत्रमा खोजी गर्दै आएका छन् । प्रहरीले गोताखोरसहित र्याफ्टिङ टोली परिचालन गरेर केदारनाथको खोजीलाई निरन्तरता दिएको जनाएको छ ।

