२५ श्रावण २०८३, सोमबार 1786373774
राजनीति

छिटो भन्दा छिटो नागरिकको भान्सा सहज बनाउन सांसद अधिकारीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नागरिकको भान्सा सहज बनाउन सरकारसँग माग गरेकी छिन् ।

सोमबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा सांसद अधिकारीले ग्यासको अभावका कारण नागरिकले सास्ती भोग्नुपरेको भन्दै छिटो भन्दा छिटो नागरिकको भान्सा सहज बनाउन सरकारसँग माग गरेकी हुन् ।

उनले सर्वसाधारण नागरिकहरू छाक टार्नका लागि मध्यरातिसम्म खाली ग्यास सिलिन्डर बोकेर लाइनमा बस्न बाध्य भएको स्थितिप्रति सरकारको ध्यानाकर्षण गराइन् । एकातिर देशमा उत्पादित बिजुली खेर गइरहेको र अर्कोतिर ग्यासका लागि नागरिकले सास्ती भोग्नुपरेको अवस्था विडम्बनापूर्ण रहेको उनको भनाइ छ ।

उनले ग्यासको लाइन हटाउन सरकारले तत्काल इन्डक्सन चुलो वितरण गर्ने योजना ल्याउनुपर्ने धारणा राखिन् । साथै उनले विद्युत खपतमा लगाइएका नीतिहरूले वैकल्पिक इन्धन वा विद्युतीय चुलोको प्रयोगलाई निरुत्साहित गरेको हुनसक्ने भएको यसतर्फ गम्भीर बन्न सरकारलाई आग्रह गरेकी छिन् ।

स्वदेशी भान्सा हाम्रो साझा प्रतिबद्धता हो भन्दै नागरिकलाई गरेको बाचा र प्रतिबद्धता भुल्न नहुने उनको भनाइ छ ।