१६ भदौ २०८३, मंगलबार 1788275173
Banner

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पस् १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७।४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तीमा १११ जनाको ज्यान गएको छ भने ८७ जना घाइते भएका छन्।

कोलम्बियन जियोलोजिकल सर्भिसका अनुसार सोमबार गएको यो भूकम्प पछिल्लो एक दशकयताकै सबैभन्दा शक्तिशाली हो। भूकम्पका कारण विभिन्न शहरमा दर्जनौँ भवनहरू भत्किएका छन्। मानिसहरू भग्नावशेषभित्र थुनिएका छन् भने राजधानी बोगोटासम्मका बासिन्दा घर छाडेर खुला ठाउँमा सडकमा निस्कन बाध्य भएका छन्।

भूकम्पपछि नवनियुक्त राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले उद्धार तथा राहत कार्यलाई तीव्रता दिन राष्ट्रिय संकटकालको घोषणा गरेका छन्। उनले छिट्टै प्रभावित क्षेत्रको निरीक्षण गर्ने बताउँदै भने, “हामी हाम्रा नागरिकलाई यो विपद्‌मा एक्लो छाड्ने छैनौँ। पूर्ण क्षमताका साथ उद्धार र राहतमा जुट्ने छौँ।”

अमेरिकी भूगर्भ सर्भिसका अनुसार भूकम्पको केन्द्रविन्दु राजधानी बोगोटाभन्दा करिब ४०० किलोमिटर पश्चिममा रहेको छोको क्षेत्रको सान जोसे डेल पाल्मार नजिक १०७ किलोमिटर गहिराइमा रहेको थियो। भूकम्पपछि २।८ र ४।८ म्याग्निच्युडका दुईवटा परकम्पहरू पनि महसुस गरिएका छन्। अमेरिकी सुनामी चेतावनी प्रणालीले भने सुनामीको जोखिम नरहेको स्पष्ट पारेको छ।