काठमाडौँ : वरिष्ठ अधिवक्ता शम्भु थापाले सामाजिक सञ्जालको तस्बिर राखेर समाचार लेख्नु अपराध नभएको जिकिर गरेका छन् । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा पक्राउ गरिएको दाबी गर्दै दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा श्रेष्ठको तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले समाचार लेख्नु पत्रकारको धर्म भएको र उहाँले त्यही लेख्ने धर्मको पालना गरेको जिकिर गरे ।
न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटमाथि बहस गर्दै वरिष्ठ अधिवक्ता श्रेष्ठले सामाजिक सञ्जालमा सम्बन्धित व्यक्तिले आफैँ सार्वजनिक गरेको तस्बिरलाई आधार बनाएर समाचार लेख्दा वैयक्तिक अधिकार हनन नहुने तर्क गरे।
‘जनआस्था पत्रिका कसैको घरमा पसेर फोटो खिचेको होइन, उहाँलाई कसैले उपलब्ध गराएको हो,’ थापाले बहसका क्रममा भने । उनले समाचारको विषयवस्तुलाई लिएर पत्रकारलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताए ।
श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले गत शुक्रबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । उनले राज्यले प्रतिशोध साध्ने उद्देश्यले आफ्ना पतिलाई गैरकानुनी रूपमा पक्राउ गरेको दाबी गर्दै तत्काल रिहाइको माग गरेकी छन् ।

