२ भदौ २०८३, मंगलबार 1787056994
Banner

उपसभामुखले आफ्नो दलप्रति निरिपेक्ष हुने नाममा सत्तापक्षको पक्षपोषण गर्नु व्यवस्थामाथिकै प्रहार : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सभामुख र उपसभामुखले निर्वाचित भएपछि तटस्थ भूमिका निर्वाह गर्नुपर्ने भए पनि उनीहरुले तटस्थ भूमिका निर्वाह गर्न नसकेको संकेत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले संविधानले सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै सभामुखको भूमिकाका विषयमा प्रश्न उठे पनि उनले सुधार गर्न खोजेको देखिएको बताए ।

तर, उपसभामुखको भूमिकामा समेत समस्या देखिएको पोखरेलले बताए ।

‘उपसभामुख राष्ट्रिय श्रम संस्कृति पार्टीबाट समानुपातिक कोटाबाट निर्वाचित सांसद हो । उपसभामुखले आफ्नो दलप्रति निरिपेक्ष हुने नाममा सत्तापक्षको पक्षपोषण गर्नु संवैधानिक व्यवस्था र संसदीय प्रणालीको मर्ममाथिकै प्रहार हो ।’ महासचिव पोखरेलले भने, ‘पदीय मर्यादा र संविधानको भावना अनुरुपको आचरणमा उपसभामुखको ध्यान अनुभवको कमीले हुनसक्छ, पुगेको देखिँदैन । यस विषयमा उहाँमा पनि सुधार आउनु जरुरी देखिन्छ ।’

पोखरेलले संसदीय भूमिकामा निष्पक्षताको अर्थ समग्रतामा आफ्नो दलको राजनीतिक मान्यता र विश्वासबाट पूर्णतः पलायन हुनु नभएको समेत उल्लेख गरेका छन् ।