२ भदौ २०८३, मंगलबार 1787054428
अर्थ

नाडा अटो शोमा १२३ वटा सवारी ब्रान्डका स्टल राखिने

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको स्वर्ण जयन्ती संस्करणका रूपमा आयोजना हुन लागेको नाडा अटो शोमा १२३ वटा सवारी ब्रान्डका स्टल राखिने भएको छ। 

प्रदर्शनीमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनसँगै टायर, ब्याट्री, चार्जिङ, स्पेयर पार्ट्स तथा अटोमोबाइल प्रविधिसँग सम्बन्धित कम्पनीले समेत व्यापक सहभागिता जनाउँदैछन्। अटो क्षेत्रको समग्र इकोसिस्टम अटो शोमा देखिने नाडाले बताएको छ।  नाडाका अनुसार प्यासेन्जर गाडीका २३, कमर्सियल गाडीका १७, दुई पाङ्ग्रेका १३ र स्पेयर पार्टसका ७० वटा स्टल रहने छन्। यसबाहेक बैंक, वित्तीय संस्था र बीमा कम्पनी तथा अन्य गरी २०० वटा स्टल हुने नाडाले जनाएको छ। 

अटोमोबाइल क्षेत्रका विभिन्न विधालाई एउटै छानामुनि समेटेर १८औं नाडा अटो शो भदौ ९ गतेदेखि हुँदैछ। प्रदर्शनीमा चारपाङ्ग्रे सवारीसाधनतर्फ आयोन, एभलर, बीएडब्लू नेपाल, बीवाइडी, चांगन, चेरी, डीपल, डीएफएसके, डोङफेङ, एकाटा मोटर्स, फारिजोन, फेइदी, फोटोन, जीली, जीडब्ल्यूएम, हिरो, हाइगर, आईकार, जेटोर, जीनबेई, जेएमइभी, कामा, कवानई अटो, लिपमोटर, एमजी, मेटा ईभी, एमहिरो, नाम्मी, नेभो, प्रोटोन, रिडारा, स्कोडा, स्काइवेल, स्काइवर्थ, सोकोन, सुजुकी, टाटा इभी, टाटा मोटर्स कमर्सियल भेहिकल्सलगायत ब्रान्ड सहभागी हुनेछन्।

दुईपाङ्ग्रे सवारीतर्फ रोयल इन्फिल्ड, यामाहा, एम्पियर, अप्रियला, सिप्रदी यात्री, भिडा, जोन्सेन, रिभोल्टलगायत ब्रान्डले नाडा अटो शोमा स्टल राख्दैछन्। पेट्रोलियम इन्धनबाट चल्ने मोटरसाइकल तथा स्कुटरसँगै विद्युतीय दुईपाङ्ग्रे सवारीको विकल्प पनि प्रदर्शनीमा बलियो रूपमा देखिनेछ। अटो शोमा नबिल, एनआईसी एशिया, ग्लोबल आइएमई, लक्ष्मी सनराइज, प्रभु, कुमारी, माछापुच्छ्रे र राष्ट्रिय वाणिज्य बैंक तथा महालक्ष्मी विकास बैंक, गुराँस फाइनान्स तथा शिखर इन्स्योरेन्स जस्ता वित्तीय तथा बीमा संस्थाको सहभागिता रहनेछ। 

एपोलो टायर्स, सीएट, गल्फ, मोबिल, मिचेलिन, राल्सन, असियन ब्याट्री, टाटा ब्याट्री, एक्साइडसँग सम्बन्धित उत्पादन तथा सेवा, चार्जिङ कम्पनी, हेल्मेट ब्रान्ड, सवारी ट्र्याकिङ तथा प्रविधि कम्पनी, स्पेयर पार्ट्स र अटो कम्पोनेन्टका व्यवसायी समेत प्रदर्शनीमा सहभागी हुने नाडाले जनाएको छ। 

नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नाडा अटो शोले अटोमोबाइल क्षेत्रमा एउटा इकोसिस्टमका रुपमा काम गर्ने बताए। उनले नाडा देशको आर्थिक तथा औद्योगिक विकास इतिहाससँग जोडिएको भन्दै यसपालिको अटो शोकव ठूलो महत्त्व रहेको बताए।