काठमाडौं । बिक्री आम्दानीमा सुधार आए पनि युनिलिभर नेपाल लिमिटेडको नाफा घटेको छ । बढ्दो लागत, बजारमा मूल्य समायोजन गर्न देखिएको चुनौती र उपभोक्ताको खर्च गर्ने क्षमतामा आएको दबाबले कम्पनीको नाफामा असर गरेको हो ।
युनिलिभरले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको खुद नाफा १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ थियो । यसअनुसार एक वर्षमा कम्पनीको नाफा ३९ करोड ५६ लाख रुपैयाँ अर्थात् करिब २० प्रतिशतले घटेको छ ।
यद्यपी अन्तिम त्रैमासमा कम्पनीको बिक्री भने बढेको छ । चालु आवको चौथो त्रैमासमा सञ्चालनबाट भएको आम्दानी २ अर्ब २५ करोड ६० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ७ करोड ९२ लाख रुपैयाँ थियो अर्थात् चौथो त्रैमासमा बिक्री आम्दानी करिब ९ प्रतिशत बढेको छ ।
तर आम्दानी बढे पनि खर्च त्यही अनुपातमा नियन्त्रणमा आउन सकेन । यही कारण बिक्री बढेको अवस्थामा पनि नाफा घटेको हो ।
युनिलिर्भरले सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सबैभन्दा ठूलो दबाब कच्चा पदार्थ तथा उत्पादनमा प्रयोग हुने सामग्रीको लागतबाट परेको छ ।
गत आर्थिक वर्षमा त्यस्ता सामाग्रीमा खर्च ३ अर्ब ७५ करोड ७७ लाख रुपैयाँबाट बढेर ३ अर्ब ९१ करोड ८० लाख रुपैयाँ पुगेको छ । एक वर्षमा यस्तो खर्च १६ करोड रुपैयाँभन्दा बढीले बढेको हो ।
चौथो त्रैमासमा मात्रै सामग्री खपतको खर्च १ अर्ब १ करोड ३ लाख रुपैयाँबाट बढेर १ अर्ब १५ करोड ५२ लाख रुपैयाँ पुगेको छ । बिक्री आम्दानी करिब १८ करोड रुपैयाँले बढ्दा सामग्रीमा हुने खर्च १४ करोड ४९ लाख रुपैयाँले बढेको छ ।
कम्पनीले कच्चा पदार्थ तथा प्याकेजिङ सामग्रीको लागतमा आएको वृद्धिलाई नाफामा परेको मुख्य दबाबमध्ये एक मानेको छ । अन्तर्राष्ट्रिय बजारको अस्थिरता, आपूर्ति शृंखलामा देखिएको दबाब र भू–राजनीतिक अवस्थाले समेत आयातित वस्तुहरुको लागतमा असर गरेको कम्पनीको भनाइ छ ।
मूल्य बढाउन पनि सहज भएन
कच्चा पदार्थ महगिएपछि त्यसको भार बिक्री मूल्यमा सार्नुपर्ने थियो । तर युनिलिभरका लागि सबै वस्तुको मूल्य त्यसअनुसार बढाउन सहज नभएकाे कम्पनीका अधिकारीहरु बताउछन ।
उनीहरुका अनुसार छिमेकी बजारमा भएको कर संरचनाको परिवर्तनले पनि केही वर्गका वस्तुको मूल्य निर्धारणमा चुनौती थपेको छ ।
बजारमा प्रतिस्पर्धा उच्च रहेकाले मूल्य बढाउँदा बिक्रीमा असर पर्न सक्ने अवस्था रहेको र त्यसैले लागत बढेअनुसार मूल्य समायोजन गर्न नसक्दा बिक्रीबाट आएको थप आम्दानीको ठूलो हिस्सा बढेको खर्चमै गएको छ ।
कम्पनीकाे वितिय विवरण अनुुसार युनिलिभरको व्यवसायमा अर्को चुनौती उपभोक्ताको व्यवहारमा आएको परिवर्तन पनि देखिएको छ । आर्थिक अवस्था कमजोर हुँदा उपभोक्ताले महँगा ब्रान्ड वा प्रिमियम वस्तुभन्दा तुलनात्मक रूपमा सस्ता विकल्प रोज्ने प्रवृत्ति बढेको कम्पनीले आफ्नो वित्तिय विवरणमा उल्लेख गरेको छ । कम्पनीले यसलाई ‘डाउनट्रेडिङ’ भनेको छ ।
यसको असर बिक्रीको मात्रामा मात्रै होइन, कम्पनीले बेच्ने वस्तुको मिश्रणमा पनि परेको कम्पनीको ठहर छ । कम मूल्यका वस्तुको बिक्री हिस्सा बढ्दा कुल बिक्री कायम रहे पनि त्यसबाट प्राप्त हुने मार्जिनमा दबाब पर्ने गरेको छ, यसले बिक्री बढेको अवस्थामा पनि नाफा बढ्न नसक्ने युनिलिभरका एक उच्च अधिकारीले सुनौँलोलाई बताए ।
चौथो त्रैमासमै नाफा १९ प्रतिशत घट्यो
वर्षको अन्तिम तीन महिनामा पनि कम्पनीले यही दबाब सामना गरेको छ । चौथो त्रैमासमा युनिलिभर नेपालको खुद नाफा ३९ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४८ करोड ५७ लाख रुपैयाँ थियो अर्थात् त्रैमासिक नाफा ९ करोड ४९ लाख रुपैयाँले घटेको छ । यस अवधिमा करअघिको नाफा पनि ६० करोड ४४ लाख रुपैयाँबाट घटेर ४७ करोड ९३ लाख रुपैयाँमा आएको छ, अर्थात् कम्पनीको समस्या बिक्रीमा मात्र होइन, बिक्रीबाट हुने नाफाको दरमा पनि देखिएको छ ।
कम्पनीको सञ्चालन खर्चका केही शीर्षक पनि बढेका छन् । गत आर्थिक वर्षमा कर्मचारीसम्बन्धी खर्च ६२ करोड ३२ लाख रुपैयाँबाट बढेर ६४ करोड ५८ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, मूल्यह्रास तथा अमूर्त सम्पत्तिको खर्च ३० करोड ८२ लाखबाट बढेर ३४ करोड २६ लाख रुपैयाँ पुगेको छ ।
यद्यपि वित्तीय लागत भने घटेको छ ।
अघिल्लो वर्ष ४ करोड ४३ लाख रुपैयाँ रहेको वित्तीय लागत गत वर्ष ३ करोड ७६ लाख रुपैयाँमा झरेको छ । अन्य खर्च पनि १ अर्ब २४ करोड ३० लाखबाट घटेर १ अर्ब १५ करोड ४१ लाख रुपैयाँमा आएको छ । तर सामग्री, कर्मचारी र मूल्यह्रासलगायतका खर्च बढेकाले कुल खर्च ५ अर्ब ९७ करोड ६८ लाख रुपैयाँबाट बढेर ६ अर्ब ९ करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
युनिलिभरका सबै व्यवसायमा भने अवस्था कमजोर छैन । चौथो त्रैमासमा होम केयर समूहको बिक्रीमा सुधार आएको कम्पनीले जनाएको छ । विशेषगरी नयाँ ‘फेब्रिक इनह्यान्सर’ उत्पादनको सुरुवातले यो समूहको वृद्धिमा सहयोग गरेको छ । त्यस्तै, ब्यूटी एन्ड वेलबिइङ तथा पर्सनल केयरतर्फ पनि मध्यम खालको वृद्धि भएको छ । यसले पछिल्लो त्रैमासमा सञ्चालन आम्दानी बढाउन सहयोग गरे पनि बढ्दो लागतका कारण त्यसको प्रभाव नाफामा देखिन सकेन ।
वार्षिक तथ्यांक हेर्दा कम्पनीको सञ्चालन आम्दानी नै घटेको छ । आर्थिक वर्ष २०८१/८२ मा ८ अर्ब २४ करोड ५७ लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी गत वर्ष ७ अर्ब ९१ करोड ३६ लाख रुपैयाँमा झरेको छ ।
कुल आम्दानी पनि ८ अर्ब ४० करोड ६३ लाख रुपैयाँबाट घटेर ८ अर्ब ३ करोड ६३ लाख रुपैयाँमा आएको छ । त्यसैले वार्षिक रूपमा हेर्दा बिक्रीमा समेत दबाब छ । तर पछिल्लो चौथो त्रैमासमा बिक्री बढ्दा पनि नाफा घट्नुले कम्पनीको तत्कालीन समस्या बिक्रीभन्दा बढी लागत र नाफा मार्जिनमा रहेको देखाउँछ ।
ईपीएस पनि घट्यो
नाफा घटेपछि त्यसको असर कम्पनीको प्रतिशेयर आम्दानीमा पनि परेको छ । गत आर्थिक वर्षमा युनिलिभर नेपालको वार्षिक ईपीएस १ हजार ७३२ रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो ईपीएस २ हजार १३१ रुपैयाँ थियो । चौथो त्रैमासको ईपीएस पनि ४२४ रुपैयाँमा झरेको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा ५१६ रुपैयाँ थियो । कम्पनीको नेटवर्थसमेत अघिल्लो वर्षको ५ हजार ६६५ रुपैयाँबाट घटेर ५ हजार ५३९ रुपैयाँमा आएको छ ।
कम्पनीको ध्यान लागत कम गराउनेमा केन्द्रित
युनिलिभरले आगामी दिनमा ब्रान्डमा लगानी, नयाँ उत्पादन, बजार विस्तार र बिक्री वितरण प्रणालीलाई थप प्रभावकारी बनाउने रणनीति अघि सारेको छ । साथै लागत व्यवस्थापन र मूल्य समायोजनलाई पनि प्राथमिकतामा राखिएको छ ।
हाल बजारमा माग तथा उपभोक्ताको खर्च गर्ने क्षमतामा दबाब रहे पनि प्रमुख ब्रान्डको उपस्थितिलाई बलियो बनाउँदै व्यापारलाई अघि बढाउने योजनालाई अब तीव्रता दिइने कम्पनीको भनाइ छ ।

