३ भदौ २०८३, बुधबार 1787166885
कुटनीतिक

भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठको नेपाल भ्रमण सम्पन्न

भारतीय स्थल सेनाध्यक्ष (COAS) जनरल धीरज सेले १६ देखि १९ अगस्ट २०२६ सम्म नेपालको औपचारिक भ्रमण गर्नुभएको छ। १६ अगस्टमा काठमाडौं आइपुग्नुभएका जनरल सेठलाई नेपाली सेनाका उच्च अधिकारी तथा काठमाडौंस्थित भारतीय दूतावासका प्रतिनिधिहरूले स्वागत गरेका थिए।

१७ अगस्टमा उहाँले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा पुष्पहार अर्पण गर्दै राष्ट्रसेवाका क्रममा वीरगति प्राप्त सैनिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। त्यसपछि नेपाली सेनाको मुख्यालयमा उहाँलाई सम्मान गारद प्रदान गरिएको थियो। नेपाली सेनाका प्रधानसेनापति एवं भारतीय सेनाका मानार्थ महारथी जनरल अशोक राज सिग्देलसँग भेटवार्ता गर्दै उहाँले दुई देशबीचको रक्षा सहकार्यलाई थप विस्तार गर्ने विषयमा छलफल गर्नुभयो। सो अवसरमा विपद् तयारी तथा मानवीय उद्धार क्षमतालाई थप सुदृढ बनाउन भारतीय सेनाका तर्फबाट सवारीसाधन तथा चिकित्सा उपकरण हस्तान्तरण गरिएको थियो।

नेपाल–भारतबीचको पुरानो सैन्य परम्परालाई निरन्तरता दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा जनरल धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभयो। त्यसपछि जनरल सेठले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्नुभयो।

१८ अगस्टमा जनरल सेठले शिवपुरीस्थित नेपाली सेनाको कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरी प्रशिक्षार्थी तथा प्राध्यापकहरूसँग अन्तरक्रिया गर्नुभयो। उक्त अवसरमा दुवै देशका सशस्त्र सेनाबीच शैक्षिक सहकार्यको महत्वबारे विचार आदानप्रदान भएको थियो। सोही दिन उहाँले नेपालका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दै नेपाल–भारतबीचको दीर्घकालीन सम्बन्ध तथा विशेषगरी रक्षा सहकार्यका विषयमा छलफल गर्नुभयो।

१९ अगस्टमा पोखरा पुग्नुभएका जनरल सेठले भारतीय सेनाका भूतपूर्व सैनिकहरूसँग भेटघाट गर्नुभयो। कार्यक्रममा उहाँले भारतीय सेनाका पूर्वसैनिकहरूले राष्ट्रको सार्वभौमिकता र सुरक्षाका लागि पुर्‍याएको योगदान, समर्पण तथा बलिदानको प्रशंसा गर्नुभयो। सो अवसरमा वीर नारी तथा वीरता पुरस्कार प्राप्त व्यक्तिहरूलाई सम्मान गरिएको थियो भने भूतपूर्व सैनिकहरूको स्वास्थ्य तथा जीवनस्तर सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले गतिशीलता उपकरणसमेत वितरण गरिएको थियो।

जनरल सेठले कोहलपुरमा स्थापना गरिएको भूतपूर्व सैनिक अंशदायी स्वास्थ्य योजना (ECHS) पोलिक्लिनिक पनि भूतपूर्व सैनिक समुदायको सेवामा समर्पित गर्नुभयो। उक्त स्वास्थ्य सुविधा नेपालमा रहेका भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका आश्रित परिवारको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

जनरल धीरज सेठको नेपाल भ्रमणले नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्दै रक्षा तथा सुरक्षा लगायतका विभिन्न क्षेत्रमा सहकार्यलाई अझ गहिरो बनाउन योगदान पुर्‍याएको जनाइएको छ।