६ भदौ २०८३, शनिबार 1787407690
समाचार

रौतहटमा चोरी गर्दै गर्दा चोर पक्राउ

रौतहट । रौतहटको राजदेवी नगरपालिका–७ मुडवलवामा घरको ताल्चा तोडेर चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय भोला राउत भेडिहरका छोरा ३० वर्षीय मनोज राउत भेडिहर रहेका छन्। उनलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार मनोज यादवको घरमा चोरी गर्दै गरेको अवस्थामा शुक्रबार राति पक्राउ गरिएको हो।

प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपी राउतले घरको ढोकामा लगाइएको ताल्चा तोडेर सामान चोरी गरेका थिए। चोरीका सामान लिएर भाग्ने क्रममा घरधनीका आफन्त तथा स्थानीयले उनलाई घेरा हाली नियन्त्रणमा लिएका थिए।

नियन्त्रणमा लिइएका राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट पुगेको प्रहरी टोलीको जिम्मा लगाइएको छ। प्रहरी सहायक हवल्दार यादव हाल सर्लाहीको मलंगवामा कार्यरत रहेको बताइएको छ।

पक्राउ परेका राउत यसअघि पनि गाउँमा चोरीका घटनामा संलग्न रहेको आरोप लाग्दै आएको प्रहरीले जनाएको छ। गत साउन ६ गते स्थानीय अभिमन्यु यादवको घरमा चोरी गरेको आरोपमा समेत उनी पक्राउ परेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले घटनाको पुष्टि गर्दै पक्राउ परेका राउत जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।