८ भदौ २०८३, सोमबार 1787566362
विश्व

शिशु अस्पतालको एनआईसीयूमा भेन्टिलेटर विस्फोट हुँदा ३ नवजात शिशुको जलेर मृत्यु

मुम्बई । भारतमा एक अस्पतालमा आगलागी हुदाँ तीन शिशुको जलेर मृत्यु भएको छ ।

महाराष्ट्रको अमरावतीस्थित जिल्ला शिशु अस्पतालको नवजात शिशु सघन उपचार कक्षमा सोमबार बिहान करिब ३ः३० बजे आगलागी हुँदा तीन शिशुको जलेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार यस घटनामा तीन नवजात शिशुको मृत्यु हुँदा थप उपचारका लागि ६ जना शिशुलाई भने सुपर स्पेसियालिटी अस्पतालमा सारिएको छ ।

प्रारम्भिक जानकारी अनुसार अस्पतालको तेस्रो तल्लामा रहेको भेन्टिलेटरमा विस्फोट भएपछि आगलागी सुरु भएको थियो र त्यसपछि उक्त क्षेत्रमा धुवाँ फैलिएको थियो । सो समयमा अस्पतालमा ३९ जना नवजात शिशुहरू उपचाररत थिए ।

आगो लाग्नेबित्तिकै ड्युटीमा रहेका चिकित्सक, नर्स र अस्पतालका कर्मचारीहरूले तत्कालै धेरै बालबालिकालाई सुरक्षित स्थानमा सारेका थिए । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।