८ भदौ २०८३, सोमबार 1787579899
राजनीति

देउवाले गगनलाई दिएनन् भेट्ने समय

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवासँग भेटवार्ताका लागि पहल गरे पनि हालसम्म समय पाउन सकेका छैनन्।

पार्टीभित्र देखिएको पछिल्लो विवादबारे छलफल गर्न थापाले देउवाका स्वकीय सचिव भानु देउवालाई फोन गरी भेटको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए। तर, आग्रह गरेको लामो समय बितिसक्दा पनि देउवाको तर्फबाट भेटको समयबारे कुनै जवाफ नआएको महामन्त्री प्रदीप पौडेलले बताएका छन्।

उनका अनुसार पार्टी सभापति थापाले देउवासँग संवाद गरेर आन्तरिक विवाद समाधान गर्ने उद्देश्यले भेटको पहल गरेका हुन्। ‘सभापतिज्यूले सचिवालयमा फोन गरेर भेटको व्यवस्था मिलाइदिन भन्नुभएको हो। तर, अहिलेसम्म उताबाट कुनै जवाफ आएको छैन,’ पौडेलले भने।

हङकङबाट नेपाल फर्किएको करिब दुई साता पुग्दा पनि देउवा र थापाबीच प्रत्यक्ष भेट हुन सकेको छैन। देउवा अहिले चुनदेवीस्थित निवासबाट आफ्ना राजनीतिक गतिविधि सञ्चालन गरिरहेका छन्। उनीनिकट नेताहरू भने नियमित रूपमा देउवासँग भेटघाट गर्दै आएका छन्।

पार्टीभित्रको विवाद समाधानका लागि संवाद आवश्यक रहेको भन्दै थापाले देउवासँग भेटको प्रयास गरेको कांग्रेस नेताहरू बताउँछन्। यसअघि पार्टी बैठकबाटै देउवाको स्वास्थ्यलाभको कामना गरिएको पनि महामन्त्री पौडेलले जानकारी दिए।

यता, देउवा पक्ष भने पार्टीभित्रको पछिल्लो विवाद र नेतृत्वसम्बन्धी विषयमा सर्वोच्च अदालतको निर्णय पर्खिरहेको नेताहरूको भनाइ छ। विशेष महाधिवेशन र त्यसबाट उत्पन्न नेतृत्वसम्बन्धी विवाद अदालतमा विचाराधीन रहेकाले देउवा तत्काल थापासँग औपचारिक भेटवार्ताको पक्षमा नरहेको उनीहरू बताउँछन्।

गगन थापाले अघि सारेको महाधिवेशनसम्बन्धी कार्यतालिका रोक्न देउवा पक्षले सर्वोच्च अदालतमा कानुनी प्रक्रिया अघि बढाइरहेको छ। यही विषयलाई लिएर कांग्रेसभित्र दुई पक्षबीचको राजनीतिक दूरी कायमै रहेको देखिन्छ।

यसबीच सभापति थापाले संवादमार्फत विवाद समाधानको प्रयास अघि बढाए पनि देउवाबाट भेटका लागि समय नपाउँदा पार्टीभित्रको असहमति तत्कालै अन्त्य हुने सम्भावना कमजोर देखिएको छ।