११ भदौ २०८३, बिहिबार 1787837595
राजनीति

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री तथा कर्मचारीहरूको टोली बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहत व्यवस्थापनमा जुटेको छ ।

मुख्यमन्त्री थापामगर नेतृत्वको टोलीले बुधबारदेखि बागमती प्रदेशका बाढी प्रभावित धादिङ र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत निरीक्षण गरिरहेको छ ।

रसुवामा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रदेश सरकारले प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहत व्यवस्थापनलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री थापामगरले बताए । उनका अनुसार बाढी प्रभावित नागरिकलाई तत्कालका लागि स्थानीय विद्यालय, पार्टी प्यालेस, सभा–हल लगायत सुरक्षित स्थानमा राखिएको छ । प्रभावितको खानपिन तथा बसोबासको आवश्यक व्यवस्थापन समेत प्रदेश सरकारले गरिरहेको उनले जानकारी दिए ।

‘बाढीबाट प्रभावित नागरिकको उद्धार र तत्कालीन राहतलाई प्राथमिकतामा राखेर प्रदेश सरकार परिचालित भएको छ,’ मुख्यमन्त्री थापामगरले भने, ‘प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राखेर आवश्यक खाद्यान्न, बसोबास लगायतका व्यवस्थापन मिलाइरहेका छौँ ।’

मुख्यमन्त्री थापामगरसँगै आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री, सामाजिक विकासमन्त्री गिरबहादुर तामाङ लगायत प्रदेश सरकारका अधिकारीहरू बाढी प्रभावित क्षेत्रमा निरीक्षण तथा राहत व्यवस्थापनमा खटिएका छन् ।

टोलीले बाढीबाट भएको क्षतिको स्थलगत अवस्था बुझ्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा स्थानीय तहका जनप्रतिनिधिसँग समन्वय गरी उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिरहेको जनाइएको छ ।

प्रदेश सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा तत्काल आवश्यक पर्ने राहत सामग्री उपलब्ध गराउनुका साथै उद्धार कार्यका लागि आवश्यक स्रोत–साधन परिचालन गर्ने तयारी समेत गरेको जनाएको छ ।