१३ भदौ २०८३, शनिबार 1788029765
समाचार

नेपालको विनाशकारी बाढीका कारण यूएईमा तय भएको तीज विशेष कार्यक्रम स्थगित

काठमाडौं : नेपालमा आएको विनाशकारी कारण नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले सेप्टेम्बर १३ मा आयोजना गर्ने तय भएको तीज विशेष कार्यक्रम स्थगित गरेको छ ।

नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईले विज्ञप्ति जारी गर्दै मातृभूमिमा बाढीपहिरो र प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति भएको तथा धेरै नेपाली प्रभावित भएर पीडामा रहेको अवस्थामा विदेशमा बसेर उत्सव तथा मनोरञ्जनका कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने ठहर गर्दै कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको जनाएको हो ।

यूएईको ब्लु प्लेसमा आयोजना गर्ने तय भएको कार्यक्रममा नेपालबाट चर्चित कलाकार भूमिका गिरीलाई विशेष अतिथि कलाकारका रूपमा आमन्त्रण गरी सांगीतिक प्रस्तुति राख्ने तयारी गरिएको थियो ।

एसोसिएसनले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र उद्धार, उपचार तथा सुरक्षित पुनःस्थापनाका लागि शुभकामना व्यक्त गरेको छ ।

साथै एसोसिएसनले विदेशमा रहेका नेपालीलाई विपत्तिको समयमा आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न तथा पीडित परिवारको दुःखमा साथ दिन अपिल गरेको छ ।

नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष भीम मल्ल ठकुरीले अहिलेको अवस्थामा सहयोग संकलन गर्नेभन्दा पनि आफू बसेको स्थानबाट सिधै सरकारको आधिकारिक खातामा सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले विपत्तिको समयमा संकलित सहयोग सही ठाउँमा पुग्ने सुनिश्चितताका लागि सरकारी संयन्त्रमार्फत सहयोग गर्नु उपयुक्त हुने बताए ।

कार्यक्रमको आगामी मिति तथा अन्य आवश्यक जानकारी परिस्थितिको मूल्याङ्कन गरी पछि सार्वजनिक गरिने एसोसिएसनले जनाएको छ ।