१३ भदौ २०८३, शनिबार 1788029484
समाचार

रसुवा र धादिङका ६ स्वास्थ्य संस्था क्षतिग्रस्त, ९ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन

काठमाडौँ । हालैको विनाशकारी बाढी तथा पहिरोका कारण रसुवा र धादिङका विभिन्न ६ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ । 

जसअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे स्वास्थ्य चौकी, गोसाइँकुण्ड–५ स्थित स्याफ्रुबेँसी स्वास्थ्य चौकी, उत्तरगया गाउँपालिका–२ स्थित गैलुङ सामुदायिक स्वास्थ्य एकाइ र गोसाइँकुण्ड–२ स्थित रसुवागढी हेल्थ डेस्क पूर्ण रूपमा क्षति भएका छन् ।

यसैगरी धादिङको बेनीघाटस्थित चरौँदी प्राथमिक स्वास्थ्य केन्द्र र गल्छीस्थित बैरेनी अस्पतालको तल्लो तला डुबानमा परी आंशिक रूपमा क्षति पुगेको छ । स्वास्थ्य संस्थाहरू नै पूर्ण तथा आंशिक रूपमा ध्वस्त भएपछि प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा प्रवाह थप प्रभावित र जटिल बनेको छ ।

यस्तै, रसुवा र नुवाकोटका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत ९ जना स्वास्थ्यकर्मीहरू सम्पर्कविहीन भएका छन् । बेपत्ता हुनेहरूमा स्याफ्रुबेँसी स्वास्थ्य चौकीका खम्बु बोहरा, टिमुरे स्वास्थ्य चौकीका सरिता मल्ल, सुस्मिता पाण्डे र हिस्मी घले रहेका छन् ।

गोसाइँकुण्डको दाहालफेदी सामुदायिक स्वास्थ्य एकाइका विजय घले, रसुवागढी हेल्थ डेस्कका गोविन्द यादव, उत्तरगया गाउँपालिका स्वास्थ्य शाखाका बलराम न्यौपाने र प्रदीप न्यौपाने तथा नुवाकोटस्थित त्रिशूली अस्पतालकी प्रेरणा तामाङ पनि बाढी–पहिरोपछि सम्पर्कविहीन भएका बागमती प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बेपत्ता स्वास्थ्यकर्मीहरूको खोजी कार्य जारी राखिएको छ ।