१६ भदौ २०८३, मंगलबार 1788296236
अर्थ

कोहिनुर सेक्युरिटीजद्वारा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कोहिनुर इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज प्रालिले ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। 

कम्पनीले मंगलबार उक्त रकम ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा जम्मा गरेको हो। बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै कम्पनीले प्रभावित परिवारलाई राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ। कम्पनीले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत राज्यका राहत तथा पुनर्स्थापनाका प्रयासमा सहयोग पुर्‍याउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ।

कोहिनुर सेक्युरिटीजका अध्यक्ष भरत रानाभाटले विपद्को कठिन परिस्थितिमा सरकार र प्रभावित नागरिकको साथमा निजी क्षेत्र पनि रहेको सन्देश दिन सहयोग गरिएको बताए।

“सरकारमार्फत गरिएको सहयोग वास्तविक पीडितसम्म समान रूपमा र आवश्यकताका आधारमा पुग्ने विश्वासका साथ हामीले यो रकम सरकारलाई हस्तान्तरण गरेका हौँ,” रानाभाटले सुनौलो नेपालसँग भने, “विपद् व्यवस्थापनमा सरकारले काम गरिरहेको छ। राज्यको संयन्त्रमार्फत राहत वितरण गर्दा वास्तविक पीडितको घर–घरमा पुग्ने र पुनर्स्थापनाको काम पनि प्रभावकारी रूपमा अघि बढ्ने विश्वासका साथ यो सहयोग गरेका हौँ।”

उनले विपद्को समयमा सरकार, निजी क्षेत्र र नागरिकबीचको सहकार्यलाई थप सुदृढ गर्दै प्रभावित परिवारको पुनर्स्थापनामा योगदान पुर्‍याउनुपर्नेमा जोड दिए।

कोहिनुर सेक्युरिटीजले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विपद् तथा अन्य सामाजिक संकटका समयमा आवश्यक सहयोग गर्दै आएको जनाएको छ।