१६ भदौ २०८३, मंगलबार 1788296998
अर्थ

 एमएडब्लू समूहको १ करोड ११ लाख रुपैयाँ सहयोग

काठमाडौं । देशका विभिन्न जिल्लामा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एमएडब्लू समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी र चितवनलगायतका जिल्लामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण कैयौँ परिवारले घर, जीविकोपार्जनका साधन तथा आफन्त गुमाएका छन्। यस्तो कठिन परिस्थितिमा प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले एमएडब्लू समूहले १ करोड ११ लाख रुपैयाँ योगदान गरेको हो। सहयोगबारे प्रतिक्रिया दिँदै एमएडब्लू समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले विपद्का बेला कम्पनी सधैँ राष्ट्र र नेपाली जनताको साथमा उभिँदै आएको बताए।

उनले भने, “मानिसहरूले गुमाएको पीडा कुनै पनि योगदानले मेटाउन सक्दैन। तर, अत्यन्त कठिन समयबाट गुज्रिरहेका परिवारलाई यस सहयोगले केही राहत प्रदान गर्ने हाम्रो आशा छ।”

एमएडब्लू समूहले नेपालले संकटको सामना गरेका हरेक कठिन समयमा प्रभावित नागरिकको साथमा उभिँदै आएको र यसपटकको सहयोग पनि त्यही मानवीय भावनाको निरन्तरता भएको जनाएको छ।

कम्पनीले बाढीमा परी प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घर तथा जीविकोपार्जनका साधन गुमाएका प्रभावितप्रति गहिरो सहानुभूति प्रकट गरेको छ।

साथै, एमएडब्लू समूहले वर्तमान संकट र आगामी दिनमा समेत नेपाल र नेपाली जनताको साथमा निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरेको छ। बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि अहोरात्र खटिरहेका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सम्बन्धित सबैप्रति कम्पनीले आभार व्यक्त गरेको छ।