१७ भदौ २०८३, बुधबार 1788371274
समाचार

प्रतिनिधिसभाबाट विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकले रसुवा बाढीले पुर्‍याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

सभामुखद्वारा प्रस्तुत विशेष प्रस्तावमा गत १० भदौमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखा जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति संसदले शोक व्यक्त गरेको हो ।

प्रतिनिधिसभाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

बैठकले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढीका कारण घरबारविहीन भएका नागरिकको तत्काल उचित व्यवस्थापन र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण पनि गराएको छ ।