सर्लाही । सर्लाहीको धनकौल गाउँपालिका–३, हरकठवाबाट चार दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा भेटिएकी छन् ।
स्थानीय रामविनय यादवकी १० वर्षीया छोरी चाँदकुमारी यादवको शव धनकौल–४ स्थित मनुष्मारा खोलामा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) गोपीकृष्ण सुवेदीका अनुसार गत आइतबारदेखि बेपत्ता बालिकालाई परिवार, स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा बुधबार साँझ खोलामा मृत फेला पारेका हुन् ।
बालिकाको नुहाउने क्रममा डुबेर मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

