काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जलविद्युत आयोजनाबाट जीवित व्यक्तिहरूको उद्धार गर्न नसकेको विषयमा सरकारको कडा आलोचना गरेका छन् ।
सरकारले अहिलेसम्म पनि संवेदनशील भएर सुरुङ खोल्न प्रयास नगरेको उनको आरोप छ । आज संसद बैठकमा बोल्दै शाहीले बाढीग्रस्त क्षेत्रका ७ टनेलमध्ये ५ वटा टनेलमा कुनै काम नगरेको दाबी गरे ।
उनले भने, ‘सबै गरिसक्यो भनेर सामाजिक सञ्जालमा हल्ला गरिएको छ । तर ७ वटा टनेलमध्ये दुईवटा टनेलमा बल्ल उद्धार टोली पुगेको छ । ५ वटा टनेलमा अहिलेसम्म केही भएको छैन ।’
प्रधानमन्त्रीले भनेजस्तो सबै टनेलको मुख बन्द नरहेको उनले बताए । शाहीले थपे, ‘यदि टनेल बन्द थियो भने जुम्लाका ६ जना दुई सय मिटर पार गरेर जीवित कसरी आए ? अझै पनि त्यहाँ जीवित मान्छे छन् । त्यो टनेलमा गइदिनुस ।’
उनले विज्ञहरूसँग छलफल गर्न प्रधानमन्त्रीले ढिलाइ गरेको गुनासो पनि गरे । जलविद्युतका विज्ञ कुलमान घिसिङसँग आठौँ दिनमा आएर बल्ल प्रधानमन्त्रीले भेटेको उल्लेख गरे ।

