काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले रसुवा, केरुङ, टिमुरेलगायतका क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकमको चेक हस्तान्तरण गरेको हो। नाडाले नगद सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत सामग्रीसमेत वितरण गरिरहेको जनाएको छ। नाडाको टोलीले प्रभावित नागरिकहरूको तत्कालीन आवश्यकता पहिचान गरी खाद्यान्न तथा आवश्यक सामग्री वितरण गर्दै आएको छ।

विपद्को कठिन घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत नगद सहयोगसँगै प्रत्यक्ष राहत तथा मानवीय सहयोगलाई निरन्तरता दिइरहेको नाडाले जनाएको छ।
नाडाका अनुसार प्रभावित नागरिकहरूको पीडामा साथ दिँदै आवश्यक सहयोग पुर्याउनु आफ्नो सामाजिक दायित्व हो।
चेक हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा सहकोषाध्यक्ष निलमणि पाठकलगायतको उपस्थिति रहेको थियो।

