१९ भदौ २०८३, शुक्रबार 1788505170
अर्थ

भोटेकोशी बाढीपीडितका लागि टुन्डी कन्स्ट्रक्सनको १ करोड ६२ लाख सहयोग

काठमाडौं । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि टुन्डी कन्स्ट्रक्सनले १ करोड ६२ लाख रुपैयाँ सहयोग गरेको छ।

टुन्डी ग्रुपका अध्यक्ष ऋषि प्रसाद सुवेदीले प्रधानमन्त्री राहत कोषमा १ करोड ६२ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्। बाढीपहिरोलगायत प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि राज्यले अघि बढाएको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको हो। विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिँदै टुन्डी कन्स्ट्रक्सनले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (CSR) समेत प्रस्तुत गरेको छ। अध्यक्ष सुवेदीले विपत्तिको समयमा राहत र पुनर्स्थापनाका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देशसहित राज्यको अभियानमा निजी क्षेत्रको साथ रहेको प्रतिबद्धता जनाएका छन्।

नेपालसहित भारत, भुटान र अस्ट्रेलियामा व्यावसायिक उपस्थिति रहेको टुन्डी ग्रुपले पूर्वाधार तथा निर्माण क्षेत्रमा काम गर्दै आएको छ। काठमाडौं, भारतको नोएडा, भुटानको थिम्पु र अस्ट्रेलियाको पर्थमा कम्पनीको सञ्चालन तथा उपस्थिति रहेको छ।

भोटेकोशी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएका बेला निजी क्षेत्रबाट राहत तथा उद्धारका लागि सहयोग जुट्ने क्रम बढिरहेको छ। टुन्डी कन्स्ट्रक्सनको १ करोड ६२ लाख रुपैयाँको सहयोग त्यही मानवीय अभियानमा निजी क्षेत्रको महत्वपूर्ण योगदानका रूपमा आएको हो।

“पूर्वाधार निर्माणसँगै समुदाय निर्माण र बलियो भविष्य निर्माण” भन्ने भावनासहित टुन्डी ग्रुपले विपद्को समयमा राष्ट्र र समुदायको साथमा उभिने प्रतिबद्धता जनाएको छ।