काठमाडौं । बागमती प्रदेश सरकारले हेटौंडा–काठमाडौं आवागमनलाई सहज र निरन्तर बनाउन भीमफेदी–कोगटे–ईपा–सिस्नेरी सडकलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने तयारी थालेको छ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण पटकपटक यातायात प्रभावित भएपछि प्रदेश सरकारले उक्त सडकखण्डको आवश्यक मर्मत तथा स्तरोन्नति गरी सञ्चालनयोग्य बनाउन प्रक्रिया अघि बढाएको हो ।
मुख्य राजमार्गमा हुने अवरोधका कारण राजधानी र प्रदेश राजधानीबीचको आवतजावत ठप्प हुने समस्या न्यूनीकरण गर्न वैकल्पिक सडकलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री किरण थापामगरले बताए ।
मुख्यमन्त्री थापा, भौतिक पूर्वाधार विकासमन्त्री भरतबहादुर केसी, मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठा र भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामासहितको टोलीले बिहीबार सो सडकखण्डको स्थलगत निरीक्षण गरेको थियो ।
मुख्यमन्त्री थापाका अनुसार चालु आर्थिक वर्षमै प्रदेश सरकारले बजेट विनियोजन गरिसकेकाले सडकको अवस्था हेरी तत्काल मर्मतको काम अघि बढाइनेछ । यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा पनि यात्रु तथा सवारीसाधन सहजै गन्तव्यसम्म पुग्न सक्ने अपेक्षा गरिएको छ ।

