२० भदौ २०८३, शनिबार 1788613079
Banner

पहिरोले कर्णाली करिडोर अवरुद्ध

बाजुरा । गएरातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ ।

बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका–७ बाधु र जगन्नाथ गाउँपालिका–५ मा माथिबाट आएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ ।

कर्णाली करिडोरअन्तर्गत बाधुमा आएको पहिरो पीएस कन्स्ट्रक्सनको जेसीबी प्रयोग गरी हटाएर खुलाइए पनि जगन्नाथको भुकाह खोलामा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

सडक अवरोध खुलाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।

सडक अवरुद्ध हुँदा गन्तव्य स्थानतर्फ जाने सवारीसाधन बाटोमा रोकिएका छन् ।