भदौ २० गते । अङ्ग्रेजलाई परास्त गरेको सम्झनामा शनिबार पाल्पामा रणउजिरेश्वरी भगवती जात्रा निकालिएको छ । नेपाली सेनाले अङ्ग्रेज सेनालाई परास्त गरेको सम्झनामा विजयोत्सवको रुपमा भगवती जात्रा निकाल्ने गरिन्छ ।
यो वर्ष २०७ औं संस्करणको रुपमा जात्रा निकालिएको हो । यसपालि तामझाम नगरी जात्रा निकालिएको थियो । भोटेकोशी बाढीले जनधनको ठूलो क्षति पुर्याएको हुँदा यतिबेला मुलुक नै शोकमा रहेकोले सामान्य औपचारिकताका लागि जात्रा निकालिएको अध्यक्ष अशोक महर्जनले बताउनुभयो ।
तत्कालीन कर्णेल उजिरिसंह थापा नेतृत्वको न्पाली फौजले नेपाल अङ्ग्रेज युद्धको जितगढी किल्लामा विजयी हासिल गरेको थियो । विसं. १८७१ र ७२ मा जितगढी युद्धमा जानुअघि भगवतीको भाकल गरेर विजयी भएपछि थापाले भगवतीको रथयात्रा गराउने परम्परा चलाउनुभएको थियो ।

युद्धमा विजयी प्राप्त गरेपछि खुसियालीमा कर्णेल उजिरसिंहले भगवती मन्दिरको मर्मतसम्भार गर्नुका साथै सिन्दुर जात्रा गरी बजार परिक्रमा गराएका थिए । १८७७ सालदेखि हरेक वर्ष पाल्पामा भगवती जात्रा भव्यताका साथ मनाउन थालिएको हो । रथयात्रा गर्नुअघि मन्दिरमा बली दिने प्रचलन रहेको छ । भगवतीको रथ तानसेन बजारका विभिन्न स्थानमा परिक्रमा गराएपछि पुनः मन्दिरमा रथ बिसर्जन गरिन्छ ।


