२१ भदौ २०८३, आइतबार 1788698497
समाचार

अविरल वर्षासँगै बाजुराका विभिन्न स्थानमा पहिरो, सडक अवरुद्ध

बाजुरा । बाजुरामा हिजो राति भएको अविरल वर्षाले ठूलो क्षति पुर्‍याएको छ । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको हो ।

सडकखण्डको कारागार, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँध लगायत ठाउँमा सडक माथिबाट पहिरो खसेपछि सडक अस्तव्यस्त बनेको हो । बडीमालिका–८ को राप्का, ६–को जडाङ्गामा समेत पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सवारीसाधनको आवागमन ठप्प भएको छ । शनिबार राति आएको अविरल वर्षाका कारण पहिरोले मीनबहादुर थापाको भैसी गोठ पहिरोले पुरेको छ ।

त्यस्तै, सोही नगरपालिका–८ गडखेतमा तीन घर पूर्ण रुपमा क्षति भएको बडीमालिका नगरपालिका–९ का वडा अध्यक्ष सूर्यकिरण विकले जानकारी दिए ।

यता, वीरेखोलामा बाढी आउँदा दुई दर्जन परिवार विस्थापित भएका छन् । रातभरको अविरल वर्षातले झरनामा बाढि आउँदा २२ बढी परिवार विस्थापित भएका छन् । बाढीले मानवीय एवं भौतिक क्षति नभए पनि परिवारहरु विस्थापित भएका छन् ।

भीषण बाढीबाट वीरेखोलाका ४१ परिवार प्रभावित भएको बडीमालिका–६ का कार्यवाहक वडाध्यक्ष परे बडुवालले बताए । बाढीका कारण कृषकका धानबाली बगरमा परिणत भएको छन् ।

वर्षाले सदरमुकाम मार्तडी बजारमा समेत क्षति पुर्‍याएको हो । बजारको विभिन्न ठाउँका ढलमा पानी जम्मा भई सडक छेदविच्छेद बनेको हो । वर्षाले जिल्लामा विद्युत सेवा समेत अवरुद्ध बनेको छ । जिल्लामा शनिबार आएको वर्षाका कारण पुर्‍याएको क्षतिको एकिन विवरण भने आउन बाँकी रहेको छ ।