२१ भदौ २०८३, आइतबार 1788706038
Banner

सभापति थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा.शेखर कोइरालाबीच भेटघाट भएको छ। आइतबार दिउँसो भएको वार्तामा उनीहरूबिच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको हो।

थापासँगको भेटमा कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एकढिक्का हुनुको बिकल्प नरहेको बताएका उनको सचिवालयले जनाएको छ। यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको कोइरालाको भनाइ छ।

जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए। पार्टीलाई एकताबद्ध बनाउन आफू लागिपरेको सभापति थापाको भनाइ थियो। भदौ १० गते नेपाल–चिन सिमाना रसुवामा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङ जिल्ला निम्त्याएको विपत्तिका विषयमा पनि उनीहरुबीच छलफल भएको थियो।

कांग्रेस सभापति थापाले शनिबार (हिजो) निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्कासँग पनि भेटवार्ता गरेका थिए। पार्टी विवाद समाधानका विषयमा थापा र खड्काबीचको छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन्।