काठमाडौं । सिटिजन्स बैँक इन्टरनेसनलले भदौ १० मा रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीपछि प्रभावित नागरिकको उद्धार, उपचार तथा राहतस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ उपलब्ध गराएको छ।

बैंक अध्यक्ष प्रबलजंग पाण्डेले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल सहभागी थिए। बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ, शिक्षालगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिइने जानकारी दिएकाे छ।
बाढीका कारण बैंकको देवीघाट शाखा पूर्ण रूपमा क्षतिग्रस्त भएको थियाे । तरपनि साे बैंकले तत्काल राहत पुर्याउने उद्देश्यले देवीघाटको विदुर नगरपालिका–५, नुवाकोटमा खाद्यान्न सामग्री जस्तै चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउलगायतका सहयोग गरेको थियाे ।
हाल बैंकले २०० वटा शाखा, १६९ एटिएम, ३ विस्तारित काउन्टर र ४२ वटा शाखारहित इकाइबाट बैंकिङ सेवा दिँदै आएको छ। बैंकले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभका लागि कामना गरेको छ।

