२२ भदौ २०८३, सोमबार 1788803753
समाचार

भोटेकोशी बाढीपीडितका लागि सिटिजन्स बैंकको २ करोड २२ लाख आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बागमती प्रदेशको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, उपचार तथा राहतको उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगस्वरुप २ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँ प्रदान गरेको छ ।

बैंकले प्रकोपबाट ज्यान गुमाएकाका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनप्रति राहत पुर्‍याउने उद्देश्यले बैंकले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा गरेको हो ।

अर्थ मन्त्रालय सिंहदरबारमा आज आयोजित एक समारोहकाबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबलजंग पाण्डेले सहयोग रकम हस्तान्तरण गरेका हुन् । समारोहमा बैंकका सञ्चालक समिति सदस्य दिग्विजय विष्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको उपस्थिति रहेको थियो ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने बैंकले जनाएको छ ।