काठमाडौं । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) आमनेसामने हुँदैछन् ।
मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने फाइनल खेल नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ । एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदान उत्रने दुवै टोलीका लागि आजको खेल निर्णायक छ । प्रतियोगिताको उपाधि विजेताले मात्र एसिया कपमा स्थान बनाउने भएकाले नेपाल र युएई दुवै दबाबमा हुनेछन् । नेपाल र युएई दुवै दोस्रोपटक प्रिमियर कपको उपाधि जित्ने अभियानमा छन् । सन् २०२३ मा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यसपछि सन् २०२४ मा युएईले आयोजक ओमानलाई हराउँदै उपाधि आफ्नो नाममा गरेको थियो ।

जारी प्रतियोगितामा नेपालले पाँच खेल खेल्दा चार जित र एक हारको नतिजा निकालेको छ । युएई भने प्रतियोगितामा अपराजित रहँदै फाइनलमा पुगेको हो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र युएईबीच हालसम्म १९ खेल भएका छन् । जसमा नेपालले ११ र युएईले ८ खेल जितेका छन् । पछिल्ला पाँच खेलमा भने नेपालले तीन खेलमा बाजी मारेको छ ।
नेपालले युएईसँग पछिल्लोपटक गत मेमा आईसीसी विश्वकप लिग–२ अन्तर्गत प्रतिस्पर्धा गरेको थियो । त्यसअन्तर्गत भएका दुवै खेलमा नेपाल विजयी भएको थियो ।
आजको फाइनलमा नेपाललाई उपाधिसँगै एसिया कपको टिकट पक्का गर्ने अवसर छ ।

