२७ भदौ २०८३, शनिबार 1789209885
विश्व

फिलिपिन्समा फेरीमा भीषण आगलागी : मृतकको सङ्ख्या ३५ पुग्यो

पलावान । फिलिपिन्समा फेरीमा भएको भीषण आगलागीमा मृत्यु भएका यात्रुका शव शनिबार बिहान पलावानको पर्यटकीय सहर कोरोन नजिकैको बन्दरगाहमा ल्याइएको छ । अधिकारीहरूले मृतकको संख्या ३५ पुगेको पुष्टि गर्दै अझै धेरै शव फेला पर्न सक्ने बताएका छन् ।

बुधबार साँझ एमभी जुन एस्टर फेरीमा आगलागी भएपछि जहाज नियन्त्रणबाहिर गई पर्यटकीय क्षेत्र कोरोन नजिकै गएर अड्किएको थियो । आगलागी केही सेकेन्डमै जहाजभर फैलिएको बताइएको छ ।

समाचार संस्था एएफपीका अनुसार शनिबार बिहान ३० वटा शव बन्दरगाहमा ल्याइएका थिए । शव व्यवस्थापनका लागि बन्दरगाहमा टेन्टसमेत स्थापना गरिएको थियो । फिलिपिन्स कोस्ट गार्डकी प्रवक्ता नोएमी कयाबयाबले शवहरू प्रहरीका फरेन्सिक अनुसन्धानकर्तालाई बुझाएर पहिचान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताए ।

“अहिले हाम्रो ध्यान शव उद्धारमा केन्द्रित छ । त्यसपछि घटनाको अनुसन्धान अघि बढाउनेछौँ,” उनले पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार उद्धार गरिएका शवहरू जहाजको इकोनोमी कक्षमा फेला परेका हुन् । जहाजमा अझै कति शव बाँकी छन् भन्नेबारे अधिकारीहरूले पछि जानकारी दिने बताएका छन् ।

कोस्ट गार्डका अनुसार घटनापछि हालसम्म ३० यात्रु र १३ चालक दलका सदस्य गरी ४३ जना उद्धार भएका छन् भने ५४ जना अझै बेपत्ता छन् । आगलागीपछि तत्कालै पाँच जनाको मृत्यु भएको पुष्टि गरिएको थियो ।

कोस्ट गार्डले सार्वजनिक गरेका तस्बिरमा हाज्माट सूट लगाएका उद्धारकर्मीहरूले शवका झोला सानो पानीजहाजमा राखिरहेको देखिन्छ ।

केही सेकेन्डमै फैलियो आगो

कोस्ट गार्डकी प्रवक्ता कयाबयाबले शुक्रबार रेडियोसँग कुरा गर्दै आगो जहाजको कार्गो होल्डबाट सुरु भएको र केही सेकेन्डमै जहाजभर फैलिएको बताए ।

“ठूलो विस्फोटको आवाज सुनेदेखि धुवाँ देखिन थालेको र त्यसपछि आगो लागेको थियो। आगो निकै छिटो फैलियो,” उनले भने । उनका अनुसार आगो यति तीव्र गतिमा फैलिएको थियो कि धेरै यात्रुले लाइफ ज्याकेटसमेत लगाउने समय पाएनन् ।

आफन्तको खोजीमा कोरोन पुगेका परिवार

मृतक तथा बेपत्ताको खोजीका लागि आफन्तहरू कोरोन पुगेका छन् । मायर काबिलान आफ्ना ४० वर्षीय भाइ रमेल गोन्जागाको खोजीमा कोरोन पुगेकी छन् । गोन्जागा व्यापारिक कामका लागि आफ्ना भिनाजुसँग मनिलाबाट उक्त फेरीमा यात्रा गरेका थिए ।

“उहाँकी श्रीमतीले एक महिनाअघि मात्रै छोरी जन्माएकी थिइन् । छोरी जन्मिएकोमा उनी निकै खुसी थिए,” काबिलानले आँसु रोक्दै बताए । “बिहानसम्म पनि उनी बाँचेका छन् भन्ने विश्वास थियो । तर उहाँ अझै बेपत्ता छन् । अब मैले आशा गुमाइसकेँ,” उनले भने ।

घटनाबारे जानकारी पाउन आतुर सयौँ मानिसले स्थानीय मेयरको फेसबुक पेजमा आफन्त, साथीभाइ तथा एउटा कुकुरसमेत हराएको भन्दै खोजीका लागि टिप्पणी गरिरहेका छन् ।

फेरीमा १३४ जनाको विवरण

फेरीको यात्रु तथा चालक दलको विवरणमा कुल १३४ जना उल्लेख गरिएको थियो । तर कोस्ट गार्डका अनुसार तीमध्ये दुई जना फेरीमा चढेका थिएनन् । फेरीमा यात्रुका साथै विभिन्न सामान, एउटा विद्युतीय सवारी, एउटा पिकअप ट्रक र मोटरसाइकलसमेत बोकेर लगिएको थियो ।

फिलिपिन्समा अन्तरद्वीपीय फेरी दुर्घटनाको लामो इतिहास छ । सात हजारभन्दा बढी टापु रहेको यस देशमा लाखौँ मानिस यातायातका लागि सस्तो तर कमजोर नियमन भएका डुंगा तथा जहाजमा निर्भर छन् ।

यसअघि जनवरीमा दक्षिणी फिलिपिन्समा ३४० भन्दा बढी मानिस सवार तीन तले फेरी डुब्दा कम्तीमा ५२ जनाको मृत्यु भएको थियो । सन् २०२३ मा पनि लेडी मेरी जोय ३ फेरीमा आगलागी हुँदा ३१ जनाको मृत्यु भएको थियो । हालको एमभी जुन एस्टर दुर्घटना पनि लगभग त्यही समुद्री मार्गमा भएको हो ।