रौतहट । भारत–नेपालबीचको व्यापारिक गतिविधिलाई थप सहज, व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत–नेपाल सीमास्थित रक्सौल एकीकृत जाँच चौकी निरीक्षण गरेका छन् ।
निरीक्षणपछि आईसिपी सभागारमा सीमा व्यवस्थापनसँग सम्बन्धित विभिन्न सरकारी निकायका अधिकारी तथा सरोकारवालासँग उच्चस्तरीय समीक्षा बैठक समेत गरिएको थियो ।
बैठकमा सीमा शुल्कका सहायक आयुक्त प्रदीप कुमारसहित सीमा शुल्क विभागका अधिकारी, भारतीय भू–सीमा प्राधिकरण , सशस्त्र सीमा बल एस एसबी प्लान्ट क्वारेन्टाइन, भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण लगायतका अधिकारी सहभागी थिए । नेपालतर्फको एकीकृत जाँच चौकीका वरिष्ठ अधिकारी तथा सम्बन्धित निकायका प्रतिनिधिको पनि बैठकमा उपस्थिति थियो ।
व्यापारिक प्रक्रिया सरल बनाउन जोड
बैठकलाई सम्बोधन गर्दै राजदूत श्रीवास्तवले भारत र नेपालबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धको चर्चा गर्दै दुई देशबीचको व्यापारलाई थप सहज र गतिशील बनाउन निरन्तर प्रयास आवश्यक रहेको बताएका थिए । उनले सीमा क्षेत्रमा व्यापारसँग सम्बन्धित प्रक्रियालाई सरल बनाउने, ढुवानी तथा लजिस्टिक्सका अवरोध घटाउने र विभिन्न सरकारी निकायबीच प्रभावकारी समन्वय कायम गर्नुपर्नेमा जोड दिए ।
बैठकमा सीमा शुल्क तथा लजिस्टिक्ससँग सम्बन्धित विभिन्न प्राविधिक र प्रशासनिक विषयमा छलफल भएको थियो ।
राजदूत श्रीवास्तवले सीमा क्षेत्रमा कार्यरत सुरक्षा तथा नियमनकारी सबै निकायबीच आपसी समन्वय बलियो हुनुपर्ने बताएका थिए । उनले सबै निकायले एउटै टिमको भावनाका साथ काम गर्दै व्यापारिक सवारीसाधन तथा सर्वसाधारणको आवागमनलाई सकेसम्म सहज र अवरोधरहित बनाउन पहल गर्न अधिकारीहरूलाई आग्रह गरेका थिए ।
भारतको रक्सौल र नेपालको वीरगञ्ज जोड्ने सीमा क्षेत्र दुई देशबीचको व्यापारका प्रमुख मार्गमध्ये एक हो । त्यसैले रक्सौल आईसिपीमा कार्यरत विभिन्न निकायबीच प्रभावकारी समन्वय तथा प्रक्रियागत सुधारले सीमापार व्यापारको गति र दक्षतामा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
राजदूत श्रीवास्तवको रक्सौल आईसिपी निरीक्षणलाई भारत–नेपाल सीमामा व्यापार, लजिस्टिक्स तथा सीमा पूर्वाधारलाई थप प्रभावकारी बनाउने प्रयासका रूपमा हेरिएको छ । यस भ्रमणले भारत–नेपाल सीमामा व्यापारिक प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउनुका साथै दुवै देशका सम्बन्धित निकायबीच समन्वय सुदृढ गर्ने विषयलाई प्राथमिकतामा राखिएको संकेत गरेको छ ।

