२७ भदौ २०८३, शनिबार 1789248516
Banner

पाँच दिनमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

काठमाडौँ, भदौ २७ गते । पछिल्लो पाँच दिनमा काठमाडौँ उपत्यकामा विभिन्न कम्पनीका दुई लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ ।

पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा गएको पहिरोको कारण राजमार्ग अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा तराईका उद्योगमा सिलिण्डर रिफिल गरी बैकल्पिक बाटोबाट ती सिलिण्डर काठमाडौँमा ल्याई बिक्री गरिएका हुन् ।

निगमका अनुसार सोमबार ४८ हजार १०९, मङ्गलबार ४६ हजार २१८, बुधबार ५३ हजार ४६९, बिहीबार ४५ हजार २३० र बिहीबार ४० हजार ६३६ थान सिलिण्डर काठमाडौँ ल्याएर बिक्री गरिएका छन् । 

मुख्य राजमार्ग अवरुद्ध भएपछि निगमले यही भदौ १४ गतेदेखि काठमाडौँ, धादिङ र काभ्रेपलाञ्चोकस्थित उद्योगका सिलिण्डर बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरीमा रहेका उद्योगमा भरेर बैकल्पिक मार्गबाट काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो ।

पृथ्वी राजमार्ग नियमित सञ्चालन नहुँदासम्म वैकल्पिक मार्गबाट ग्यास सिलिण्डर काठमाडौँ ल्याई बिक्री गरिने निगमले जनाएको छ ।