काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सहायक सडकखण्डहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरी र सडक विभागको विवरण अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका धेरैजसो मुख्य सडकखण्डमा यातायात सेवा प्रभावित भएको हो ।
बागमती प्रदेशका सडकहरू सबैभन्दा बढी प्रभावित बनेका छन् । काभ्रेस्थित बीपी राजमार्गको कुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै समयगत प्रतिबन्ध लगाइएको छ । जसअनुसार १० टनसम्मका मालवाहक सवारी साधनलाई रातिको समयमा मात्र सञ्चालन गर्न दिइएको छ भने मिनी तथा साना सार्वजनिक यात्रुवाहक सवारी साधनलाई तोकिएको समय तालिका अनुसार सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।
यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलास्थित अरनिको राजमार्ग र रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढी र पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन् । नुवाकोटका विभिन्न स्थानका साथै पासाङल्हामु सडकखण्डमा पनि यातायात प्रभावित भएको छ । पहिरोको उच्च जोखिमका कारण टोखा–छहरे सडकखण्डमा भने राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
धादिङस्थित पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो जाँदा सडक पूर्ण रूपमा ठप्प भएको छ भने सोही गाउँपालिकाका अन्य स्थानमा सडक एकतर्फी मात्र सञ्चालनमा ल्याइएको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा मर्मत कार्य भइरहेकाले गाडीको चाप हेरेर पालैपालो एकतर्फी रूपमा गाडी छाड्ने गरिएको छ ।
उता कोशी प्रदेशअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा ठप्प बनेको छ ।
गण्डकी प्रदेशको मनाङस्थित नासों गाउँपालिका–३ धारापानीमा चामे–बेँसीसहर सडकखण्डमा बाटो निर्माणको काम भइरहेकाले यातायात प्रभावित भएको छ । उक्त खण्डमा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने ठूला सवारीका लागि समेत निश्चित समय तोकेर सडक बन्द गर्ने गरिएको सडक विभागले जनाएको छ ।

