२८ भदौ २०८३, आइतबार 1789310015
समाचार

जेनजी प्रदर्शनमा जलेका ४५२ प्रहरी कार्यालय पुनर्निर्माण :  आईजीपी कार्की

काठमाडौँ । जेनजी प्रदर्शन हुँदा आगजनी भएको प्रहरी वृत्त गौशालाको कार्यालय एक वर्षमा तयार भएको छ । आइतबार प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी वृत्त गौशालाको पुनर्निमित भवन उद्घाटन गरेका छन् ।

काठमाडौँको गौशालामा पुनर्निमाण गरिएको कार्यालय र ब्यारेक भवन उद्घाटन गर्दै आईजीपी दानबहादुर कार्कीले जेनजी आन्दोलनमा क्षति पुगेका ४५२ वटा प्रहरी कार्यालयको पुनर्निर्माण सम्पन्न भएको बताए । अधिकांश संरचना समुदायसँगको सहकार्यमा निर्माण गरिएको उल्लेख गर्दै कार्कीले भने– ‘प्रहरी संरचनाको पुनर्निर्माणसँगै समुदाय र नेपाल प्रहरीको सम्बन्धको पनि पुनर्निर्माण भएको छ ।’

प्रहरीका संरचना पुनर्निर्माणमा समुदाय, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न सङ्घ संस्थाले गरेको सहयोगले सम्बन्धलाई थप आत्मीय बनाएको आईजीपी कार्कीले बताए । जेनजी आन्दोलनमा आगजनी र तोडफोड गरिएका प्रहरीका ४५९ संरचनामध्ये ४५२ वटा पुनर्निर्माण भएर सञ्चालनमा आएको उनले बताए ।

आगलागीबाट जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरी वृत्त गौशालाको भवन पुनर्निर्माणमा स्थानीय समुदाय, जनप्रतिनिधि, पशुपति क्षेत्र विकास कोष, दाता, सङ्घ–संस्था, उद्योगी–व्यवसायी तथा स्थानीय व्यक्तित्वले गरेको योगदानको आईजीपी कार्कीले प्रशंसा गरेका छन् । कार्कीले भने– ‘समुदायको यस्तो साथले नेपाल प्रहरीलाई थप नागरिकमैत्री, उत्तरदायी र सेवा भावका साथ कर्तव्य निर्वाह गर्न प्रेरणा दिएको छ ।’