काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । यस अवधिमा प्राधिकरणले भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेको हो ।
प्राधिकरणका अनुसार भदौ महिनामा द्विपक्षीय सम्झौतातर्फ ४२ करोड १६ लाख २१ हजार २ सय ८८ युनिट विद्युत् निर्यात गरी ३ अर्ब ६४ करोड २५ लाख २८ हजार २ सय ९९ रुपैयाँ आम्दानी भएको छ ।
त्यसैगरी, विद्युत् बजारमार्फत १४ करोड ३९ लाख ८५ हजार १ सय ५५ युनिट विद्युत् निर्यात भई १ अर्ब ४४ करोड ९९ लाख ३२ हजार ९ सय ८३ रुपैयाँ कारोबार भएको छ ।
भदौ महिनाको कुल निर्यातमा द्विपक्षीय सम्झौतामार्फत भएको निर्यातको हिस्सा बढी रहे पनि विद्युत् बजारमार्फत पनि उल्लेख्य मात्रामा विद्युत् निर्यात भएको देखिन्छ ।
यसैबीच, भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात भने बन्द रहेको छ ।
प्राधिकरणले अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षलाई अनुरोध गरिसकेको जनाएको छ ।
आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने प्रतिबद्धता नेपाल विद्युत् प्राधिकरणले व्यक्त गरेको छ ।

