३ आश्विन २०८३, शनिबार 1789822648
Banner

संविधान राम्रो भएर मात्रै हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संविधान जति राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार र निरन्तर क्रियाशील नभए संविधान ‘कागजको खोस्टो’ बन्ने बताएका छन्।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८३ का अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताए। उनले संविधानले परिकल्पना गरेको विविधताबीचको एकता, विभेद र असमानताको अन्त्य तथा विकास, समृद्धि र सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माणको लक्ष्य पूरा गर्न सरकार केन्द्रित रहेको बताए। प्रधानमन्त्री शाहले प्रतिस्पर्धात्मक बहुदलीय लोकतन्त्र, मानव अधिकार र कानुनी शासन नेपालको राष्ट्रिय जीवनका आधार भएको उल्लेख गरे।

‘यो सुरुवात हो, अन्त्य होइन,’ भन्दै उनले भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो रहेको स्वीकार गर्दै त्यसलाई उखेल्ने हातहरू अहिले अझ बलिया र धेरै भएको बताए। उनले विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको भन्दै सरकारले प्रशासनिक संरचनाको उपयुक्त आकार निर्धारण, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, प्रशासनमा राजनीतिक तटस्थता तथा सरकारी र सार्वजनिक पदमा योग्यतामा आधारित नियुक्ति प्रक्रियालाई प्राथमिकता दिएको बताए।

‘सुशासन नारा होइन, काम हो। र हामी काम गरिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने।

संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा राष्ट्र विकासको साझा उद्देश्य हासिल गर्न संघीय सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।

प्रधानमन्त्री शाहले सरकारले परम्परागत विकासको बाटोमा मात्रै सीमित नभई कृत्रिम बुद्धिमत्ता, डिजिटल प्रविधि र साइबर सुरक्षालाई अघि बढाउँदै नवप्रवर्तन र स्टार्टअपमार्फत ज्ञानमा आधारित अर्थतन्त्र निर्माण गर्ने बताए। डिजिटल सुशासन ब्लुप्रिन्टअनुसार राष्ट्रिय डिजिटल पूर्वाधार निर्माणलाई त्यसको आधार बनाइने उनको भनाइ छ।

‘युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट पनि सुनिश्चित गर्छौँ,’ उनले भने।

विपद् आउनुअघि नै सामना गर्ने प्रतिबद्धता

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले हालैको रसुवा–भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरे। उनले मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे।

बाढीपछि उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, अन्तर्राष्ट्रिय समुदाय, संघसंस्था, निजी क्षेत्र, राष्ट्रसेवक कर्मचारी र आम नागरिकप्रति उनले धन्यवाद व्यक्त गरे।

नेपाल उच्च विपद् जोखिममा रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद् आएपछि मात्र प्रतिक्रिया दिनेभन्दा जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यमा जोड दिने बताए। विपद्को पूर्वसूचना प्रणालीलाई सर्वोच्च प्राथमिकताका साथ कार्यान्वयनमा ल्याइने उनको घोषणा छ।

‘शहीदहरूको रगतले लेखेको संविधान, कामले पूरा गर्छौँ’

प्रधानमन्त्री शाहले राजनीतिक व्यवस्थाको परिवर्तन र सुशासनको माग गर्दै भएका आन्दोलनमा ज्यान गुमाएका ज्ञात–अज्ञात शहीद तथा जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका ‘सुशासन योद्धा’हरूप्रति श्रद्धाञ्जली अर्पण गरे।

उनले संविधान जारी भएको दिन हरेक वर्ष आउने भए पनि संविधानको वास्तविक उद्देश्य पूरा गर्ने जिम्मेवारी अहिलेको पुस्ताकै भएको बताए।

उनका अनुसार हरेक इमानदार निर्णय, पारदर्शी नियुक्ति र नागरिकको घरदैलोमा पुग्ने सेवामार्फत संविधानले गरेका प्रतिबद्धता व्यवहारमा उतार्नुपर्छ।