बारा ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरा मेनरोडस्थित एक होटलमा साथीको हत्या गरी फरार भएका मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा–२, पाँचधुरे टोलका २५ वर्षीय आयुष राई रहेका छन् । राईलाई प्रहरीले शनिबार राति जीतपुरसिमरा–१६, महेन्द्रनगरस्थित धानखेतबाट नियन्त्रणमा लिएको हो ।
शनिबार साँझ करिब ५ बजे सिमरास्थित सम्झना स्टाफ होटलमा भएको विवादका क्रममा चक्कु प्रहारबाट स्थानीय ३५ वर्षीय शेरबहादुर खड्काको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार खाजा खान होटल पुगेका व्यक्तिहरूबीच विवाद भएपछि भान्सामा रहेको धारिलो चक्कुले खड्काको घाँटीमा प्रहार गरिएको थियो । गम्भीर घाइते खड्कालाई उपचारका लागि तत्काल वीरगञ्जस्थित अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनापछि फरार राईलाई खोजी गर्ने क्रममा प्रहरीले धानखेतबाट पक्राउ गरेको हो । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको छ। तर उनीहरूको परिचय भने सार्वजनिक गरिएको छैन ।
यसैगरी, सोधपुछका लागि होटल सञ्चालिकालाई पनि नियन्त्रणमा लिइएको छ ।
‘घटनामा संलग्न रहेको आशंकामा अन्य तीन जनालाई पनि पक्राउ गरेका छौँ । सोधपुछका लागि होटल सञ्चालिकालाई पनि नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ इलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी दयाकृष्ण भट्टले भने ।
प्रहरीले घटनाको कारण, चक्कु प्रहार गर्नेको भूमिका तथा अन्य व्यक्तिहरूको संलग्नताबारे सूक्ष्म अनुसन्धान भइरहेको जनाएको छ ।

