४ आश्विन २०८३, आइतबार 1789904893
विश्व

तिब्बत पहिरो : ४३ जनाको मृत्यु पुष्टि, ५१९ जना अझै बेपत्ता

बेइजिङ । चीनको दक्षिण–पश्चिममा रहेको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित गिरोङ काउन्टीमा गत अगस्ट २६ मा गएको भीषण पहिरोपछि खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ ।

प्राप्त पछिल्लो विवरण अनुसार पहिरोमा परी हालसम्म ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता रहेका छन् ।

व्यापक रूपमा भइरहेको खोजी तथा उद्धार प्रयासका क्रममा दुई जनालाई जीवितै उद्धार गर्न सफलता मिलेको छ । प्रभावित क्षेत्रमा २३ वटा विभिन्न देशका २६१ जना विदेशी नागरिकहरू समेत परेको र उनीहरूको स्थिति अझै अज्ञात रहेको बताइएको छ ।

घटनापछि चीन सरकारले उद्धार र राहत कार्यलाई तीव्रता दिएको छ । सुरुङभित्र खोज तथा उद्धार गर्न विशेष दक्षता हासिल गरेका विशेषज्ञ, डीएनए परीक्षण विज्ञ तथा आपत्कालीन उद्धार सामग्रीहरू नेपालतर्फ परिचालन गरिएको छ ।

यसैगरी, यातायात तथा पहुँच मार्ग सहज बनाउन चीनले ३२० टन बराबरको ‘बेली ब्रिज’का पाटपुर्जाका साथै अन्य ठूलो मात्रामा राहत सामग्री उपलब्ध गराएको छ । प्रभावित क्षेत्रमा बेपत्ताहरूको खोजी कार्य निरन्तर जारी छ ।