कञ्चनपुरमा बङ्गुरपालकको सङ्ख्या बढेसँगै बजारको समस्या देखा पर्न थालेको छ । बजार अभाव भएपछि बङ्गुरपालकले सस्तोमै बङ्गुर र पाठा बिक्री गर्न बाध्य छन् ।
केही दिनअघि मात्रै रु चार हजारमा बिक्री हुने बङ्गुरका पाठाको मूल्य घटेर रु दुई हजारमा झरेको छ । बङ्गुरको मासु रु २८० प्रतिकिलोका हिसाबले बिक्री हँुदै अएकामा घटेर रु दुई सय पुगेको छ ।
“पहिले बङ्गुर र पाठा खरिदका लागि व्यापारी घरसम्मै आउँथे,” एक दशकदेखि बङ्गुरपालनको कार्यमा लागेका शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका किसान तेजबहादुर चौधरीले भन्नुभयो, “यस वर्षको अहिलेसम्म बङ्गुर खरिदका लागि व्यापारी पुगेका छैनन् । बजार खोज्दै हिँड्नु परेको छ ।” चौधरीको फार्ममा पाठा र माउ गरी ५० बढी बङ्गुर रहेका छन् । बङ्गुर बेचेरै उहाँले वार्षिक रुपमा तीन लाख बढी आम्दानी गर्दै आउनुभएको छ । यहाँका किसानले ड्युरेक, पाख्रिवास, लेन्ड्रेसलगायत उन्नत जातका बङ्गुरपालन गरेका छन् । “दुई वर्ष कोरोना सङ्क्रमणका कारण बङ्गुरपालन व्यवसाय प्रभावित बन्यो”, चौधरीले भन्नुभयो, “कोरोनाको सङ्क्रमण कम भएसँगै व्यवसाय अगाडि बढ्नेमा आशावादी थियौँ ।”
बङ्गुरपालन व्यवसायमा संलग्न किसान रुपा चौधरीले बङ्गुरपालन गर्ने धेरै र बजार साँघुरो भएपछि निकै समस्या भएको बताउनुभयो । उहाँले यहाँ पालिएका बङ्गुर कैलाली, बझाङ, अछामसम्म पुग्ने गरेको जानकारी दिनुभयो । चौधरीले भन्नुभयो, “हाल बङ्गुरको माग घटेपछि लागत खर्च उठाउनसमेत हम्मे हम्मे छ ।” बङ्गुरलाई खुवाउने चारो, औषधि लगायतमा धेरै खर्च हुने गरेको उहाँको भनाइ रहेको छ ।
बजारमा बङ्गुरको माग थोरै छ । प्रतिस्पर्धा धेरै छ । त्यसै कारणले वर्षौंदेखि बङ्गुरपालन गर्दै आएका व्यापारीले व्यवसाय नै छोड्नुपर्ने अवस्था आएको दीपक चौधरीले बताउनुभयो । बङ्गुरको बजार प्रवद्र्धनका लागि स्थानीय तह र सम्बद्ध सरकारी निकायले सहयोग गर्नुपर्ने बङ्गुरपालकहरुको भनाइ रहेको छ ।